गृहपृष्ठ खबर बास्कोटाको भिडियो लिएर जापानबाट मिश्र नेपाल आउँदै

बास्कोटाको भिडियो लिएर जापानबाट मिश्र नेपाल आउँदै

प्रकाशित मिति:

काठमाडौं : १७ भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजय प्रकाश मिश्रलाई सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दियो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन मोलमोलाइ गरेको भन्ने विषयमा अनुसन्धानका लागि अख्तियारले मिश्रलाई बोलाएको थियो ।

तर, अहिलेसम्म मिश्र अख्तियारमा हाजिर हुन नआएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारी बताउँछन् । ‘मुद्दा अनुसन्धानमै छ,’ उनले भने, ‘हाजिर हुन भनिएका व्यक्ति अहिलेसम्म बयानका लागि आइपुग्नु भएको छैन ।’

बास्कोटासँग स्वीस कम्पनी केबीए नोटासिसको एजेन्टका रुपमा बार्गेनिङ गरेका मिश्र अख्तियारमा हाजिर नभएपछि अनेकन अड्कलबाजी भएका छन् । मिश्रले आफू जापानमा रहेको बताएका छन् । मिश्रको भनाइ मान्ने हो भने उनी बास्कोटासँग भएको सम्बाद प्रमाणित गर्ने डिभाइस लिन जापान गएका हुन् ।

अख्तियारले ७ दिने सूचना जारी गरेपछि मिश्रले अख्तियारलाई लिखित रुपमा इमेल गरेर आफू जापानमा रहेको र केही समयमै फर्किने जानकारी गराएको बताएका छन् ।

‘मैले इमेलसहित र हुलाकमार्फत पनि अनुसन्धान अधिकृतलाई टेप प्रकरणको डिभाइस लिन जापान आएको जानकारी गराएको छु,’ उनले जापानबाट भने, ‘मेरो नेपाल फर्किन आगामी अक्टोबर १६ तारिखको टिकट छ । म डिभाइस लिएर आउँछु भनेर अख्तियारलाई जानकारी दिइसकेको छु । ’

मिश्रका अनुसार अख्तियारलाई जानकारी गराएर डिभाइस लिन उनी जापान गएका हुन् । कोभिड–१९ का कारण असहज अवस्थाले सहजै स्वदेश फर्किन नसकेको उनको तर्क छ । मिश्रले आफूसँग रहेको डिभाइस अख्तियारले नमागेको भए निकै पहिले नै वयान दिइसक्ने दावी गरेका छन् । उनले सो डिभाइसमा मन्त्रीसँग भएको सम्वादको भिडिओ नै रहेको दावी गरेका छन् ।

 

सम्बन्धित् समाचार