गृहपृष्ठ खबर दाङ र सल्यानको छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

दाङ र सल्यानको छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

प्रकाशित मिति:

दाङ : दाङ र सल्यानमा छुटाछुट्टै घटनामा तीनजनाको मृत्यु भएको छ । दाङ र सल्यानमा दुईजनाको हत्या भएको छ भने एकजना मृत अवस्थामा भेटिएका हुन् । देउखुरीमा दुईजनाको कुटाइबाट राप्ती गाउँपालिका ३ नयाँबस्तीका १८ वर्षीय चौधरीको मृत्यु भएको छ ।

बिहीबार राती छिमेकी घरमा कुखुरा चोर्न गएका चौधरीको बावु छोराको कुटाइबाट घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । कुखुरा चोर्न आएको भन्दै ६० वर्षीय बावु खलबहादुर घर्तीमगर र छोरा २५ वर्षीय ओमप्रकाश घर्तीमगरले चौधरीलाई कुटेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घर्तीको घरमा कुखुरा चोर्न खोज्दा कुखुरा कराउन थालेपछि बावु छोराले चौधरीमाथि आक्रमण गरेका थिए । सुरुमा छोराले कुटपिट गरेको र पछि बावुले आफूले टेक्ने लठ्ठीले टाउकोमा हिर्काउँदा चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।

कुटेर मारेको आरोपमा बावुछोरालाई इलाका प्रहरी कार्यालय भालुवाङले आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको छ । यस्तै सल्यानमा दाउरा प्रहारबाट एकजनाको हत्या भएको छ ।

बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १० थापाचौरमा २० वर्षीय देवीलाल पुनले २४ वर्षीय अमर पुनको हत्या गरको प्रहरीले जनाएको हो । उनीहरु दुवैबीचको नाता दाइभाइको हो ।

भाइले दाइको हत्या गरेको वडाअध्यक्ष मानसिंह पुरीले जानकारी दिए । मदिरा सेवन गरेर झगडा हुँदा दाउराले हिर्काएर भाइले दाइको हत्या गरेको बुझिएको छ । बिहीबार साँझ भाइले दाइको हत्या गरेर शव गाउँ नजिकैको जोगेन्द्र भन्ने जंगलको ओढारमा फालेको अवस्थामा शुक्रबार भेटिएको हो । घटनाको थप वितरणका बारेमा खोजि भइरहेको सल्यान प्रहरी प्रमुख, डिएसपी गोबिन्द थापाले जानकारी दिए ।

यस्तै दाङको बबई गाउँपालिकामा एकजना पुरुष मृत फेला परेका छन् । बबई गाउँपालिका ६ निवासी ३७ वर्षीय गणेश केसी मृत फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक मोहनविक्रम केसीका अनुसार शुक्रबार बिहान नालाको छेउमा अर्धनंगन अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

केसीको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ । मृतक केसीले मानसिक रोग सम्बन्धि औषधि सेवन गर्ने गरेको परिवारले प्रहरीलाई बयान दिएका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित् समाचार