
काठमाडौं : यूएईमा जारी १३ औँ सिजनको आईपीएल अन्तर्गत किंग्स इलावेन पञ्जाबविरुद्ध राजस्थान रोयल्स ७ विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १८६ रनको लक्ष्य पछ्याएको राजस्थानले १७।३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि बेन स्टोक्सले ५०, सञ्जु सामसनले ४८, रोबिन उथप्पाले ३०, स्टिभ स्थिले नटआउट ३१ र जोस बटलरले अविजित २२ रन बनाए । बलिङमा पञ्जाब टिमका क्रिस जोर्डन र मुर्गन आश्विनले एकरएक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८५ रन बनायो । उसका लागि क्रिस गेलले शानदार ब्याटिङ गरे । ३।४ ओभरमा जीवनदान पाएका गेलले आज ६३ बलमा ८ छक्का र ६ चौकासहित ९९ रनको योगदान दिए ।
त्यस्तै, कप्तान केएल राहुलले ४६, निकोलश पूरनले २२ र ग्लेन म्याक्सवेलले अविजित ६ रन बनाए । बलिङमा राजस्थान टिमका बेन स्टोक्स र जोफ्रा आर्चरले २र२ विकेट लिए । आजको जितसँगै राजस्थान पाँचौ स्थानमा उक्लिएको छ । उसले १३ म्याच खेल्दा ६ मा जित र ७ खेलमा हारको सामना गरेको छ । राजस्थानले तालिकामा १२ अंक जोडेको छ ।









