गृहपृष्ठ कृषि बिचौलियालाई मस्ती, किसानलाई सास्ती : प्रतिक्विन्टल ८०० रुपैयाँ सस्तोमा बेच्न बाध्य

बिचौलियालाई मस्ती, किसानलाई सास्ती : प्रतिक्विन्टल ८०० रुपैयाँ सस्तोमा बेच्न बाध्य

काठमाडौँ : किसानलाई प्रोत्साहन र सुनिश्चित बचतको ग्यारेन्टी गर्न भन्दै सरकारले २०७७ असार २ मा धानको न्यूनतम समर्थन मूल्य तोक्यो । धानबाली लगाउनुअगावै पहिलो पटक मोटा धानको प्रतिक्विन्टल २७ सय ३५ र मध्यम धानको २८ सय ८५ रुपैयाँ मूल्य निर्धारण भयो ।

आर्थिक वर्ष २०७६र७७ को तुलनामा यो प्रतिक्विन्टल २ सय रुपैयाँ बढी हो तर किसानले धान बेच्ने बेला समर्थन मूल्य पाउँदैनन् । उनीहरूलाई धानको लागत उठाउनै मुस्किल परेको छ । सरकारी संयन्त्र गाउँगाउँमा नहुँदा सरकारले निर्धारण गरेको दरभन्दा क्विन्टलमै करिब ८ सय रुपैयाँसम्म सस्तोमा धान बेच्न किसान बाध्य छन् । कञ्चनपुरमा भदौ अन्तिमसम्म धानको मूल्य

२९ सय रुपैयाँ प्रतिक्विन्टल पुगेको थियो, जब धान उत्पादन भएर कृषकले बिक्री गर्न थाले, १९ सयसम्म झर्‍यो । ग्रामीण भेगमा अहिले मिल सञ्चालक तथा गल्ला खरिदकर्ताहरूले मनपरी हिसाबले मूल्य तोकेर धान खरिद गरिरहेका छन् । उनीहरूले १९ सय ५० देखि २ हजार ५० सम्ममा किनिरहेका छन् ।

कञ्चनपुरको वेदकोट नगरपालिका–६ मुसेपानीका रोशन चौधरीले असोज दोस्रो साता धान थ्रेसिङ गरिसकेका थिए । बिक्री गर्ने धान बोरामा हालेर ठिक्क पारेका थिए । भाउ बढ्ला र मिलमा बिक्री गर्न लैजाउँला भन्ने सोचमा उनी थिए । भाउ बढ्नेभन्दा पनि घट्न थालेपछि उनले गत वर्षभन्दा सस्तोमा धान बिक्री गरे । चौधरीले गत वर्ष प्रतिक्विन्टल २२ सयमा धान बिक्री गरेका थिए । यस पटक डेढ सय सस्तोमा धान बेचेको उनले बताए । ‘दसरपन्ध्र दिनअघि नै धान चुटिसकेको थिएँ,’ उनले भने, ‘भाउ बढ्ला भनेर कुरेको थिएँ, फेरि धेरै दिनसम्म राख्न ठाउँ पनि थिएन, अनि सस्तोमै बिक्री गरें ।’

चौधरीले ३५ क्विन्टल धान प्रतिक्विन्टल २ हजार ५० का दरले मिलमा बिक्री गरे । खेत जोताइ, मलबीउ खरिदका लागि पनि खर्च नहुँदा उनले चाँडै बेच्नुपरेको बताए ।

समर्थन मूल्यको फाइदा बिचौलियाले उठाइरहेको किसानको गुनासो छ । ‘सरकारले धानको मूल्य तोक्दा खुसी थियौं तर बेच्न कहाँ जाने रु’ बाराका किसान अशोक कलवारले भने, ‘त्यसको फाइदा बिचौलियाले उठाइरहेका छन् । किसानले प्रतिक्विन्टल २१ सयदेखि २३ सय रुपैयाँमा बिक्री गरिरहेका छन् ।’

कलवारका अनुसार त्यस क्षेत्रमा मोटा धान २१ सयदेखि २२ सय र मध्यम २१ सयदेखि २३ सय रुपैयाँमा बिक्री भइरहेको छ । गाउँकै गोला ९गाउँकै काँटा० मा प्रतिक्विन्टल २१ सय रुपैयाँका दरले १३ क्विन्टल धान बिक्री गरेको उनले जानकारी दिए । ‘गोलामा मनोमानी रेट छ, किसानले त्यहीं बिक्री गर्नुपर्ने बाध्यता छ, त्यसपछि बिचौलियाले मिलमा कतिमा बेच्छन्, किसानलाई थाहा हुँदैन,’ उनले भने, ‘सरकारी दरभाउ देऊ भन्दा धान किन्नै मान्दैनन्, किसान धेरै मारमा परे ।’

प्रतिक्विन्टल बिक्री गर्दा आउने २१र२२ सय रुपैयाँ मल, श्रमिक, सिँचाइमै सकिने किसान बताउँछन् । सिरहाका किसान रामविलास सदाको दुखेसो पनि उस्तै छ । १० टन धान प्रतिक्विन्टल २२ सय रुपैयाँमा बिक्री गरेको उनले सुनाए । ‘त्यो मूल्यमा बचत नै हुँदैन तर किसानको समस्या सरकारले बुझेन,’ सदाले भने, ‘बाध्यताले काँटावालालाई बेच्नुपरेको छ ।’

बिचौलिया, काँटावाला र मिलले बढी नाफा लिए पनि नियमन गर्ने निकाय छैन । यसअघि समर्थन मूल्य तोकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्दै आएको थियो तर लक्ष्यअनुसार कहिल्यै किनेन । कम्पनीले गत वर्ष ३० हजार टन धान किन्ने लक्ष्य लिएकामा करिब २२ हजार टनमात्रै खरिद गरेको थियो । सीमित जिल्लामा मात्रै कार्यालय हुँदा गाउँगाउँका किसानले समर्थन मूल्यको लाभ लिन सकेका छैनन् ।

यस वर्ष ६० हजार टन खरिद गर्ने योजना रहेको कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले जानकारी दिइन् । १२ वटा कार्यालय ९तराईमा ११ वटा कार्यालय० अन्तर्गत रहेर धान खरिद गरिने उनको भनाइ छ तर धान खरिद प्रक्रिया राजापुरबाहेक अन्य क्षेत्रमा सुरु भएको छैन । राजापुरमा कात्तिक १४ देखि मात्रै सुरु भएको छ । प्रवक्ता न्यौपानेले भने अब तत्काल महेन्द्रनगर, धनगढी, नेपालगन्जलगायत क्षेत्रमा खरिद सुरु गरिने बताइन् । त्यसलगत्तै पूर्वका जिल्लाबाट पनि खरिद गरिने उनले बताइन् ।

खाद्यले धान खरिद प्रक्रिया ढिलाइ गर्दा गोलारमिलले सस्तो दरमा धमाधम किनिरहेका छन् । खाद्यको पहुँच नभएको क्षेत्रमा बिचौलियाकै मनोमानी चलिरहेको किसानको गुनासो छ । सदाका अनुसार आफ्नो गाउँबाट करिब १३ किलोमिटर टाढा रहेको लहानमा प्रतिक्विन्टल २३ सय रुपैयाँमा धान बिक्री भइरहेको छ तर सिरहामा प्रतिक्विन्टल २२ सय रुपैयाँ मात्रै छ ।

रौतहटका किसान ऋषि तिवारीको भनाइ पनि उस्तै छ । उनले आठ क्विन्टल धान प्रतिक्विन्टल २१ सय रुपैयाँका दरले बेचे । ‘हामीलाई पैसाको खाँचो हुन्छ, त्यही भएर पनि सस्तोमा बेच्न बाध्य भयौं,’ उनले भने ।‘भण्डारण नहुँदा धान बिग्रिने सम्भावना हुन्छ तर मिलले बढी मूल्य दिँदैन,’ उनले भने । रौतहटका किसानले प्रतिक्विन्टल २१ सयदेखि २२ सय रुपैयाँसम्ममा धान बेचिरहेको उनले गुनासो गरे ।

बारा, सिरहा, कैलाली, कञ्चनपुर, बाँकेलगायत क्षेत्रमा सस्तो दरमा धान बिक्री भइरहेको राष्ट्रिय कृषक समूह महासंघ अध्यक्ष नवराज बस्नेतले जानकारी दिए । ‘कतिपय मिलले किसानले धान नदिए भारतबाट ल्याउने धम्की दिएर सस्तोमा किनेका छन्,’ उनले भने, ‘किसानको धान बिक्री नभए थप समस्या हुन्छ । बाध्य भएर उनीहरूले सस्तोमै भए पनि बेच्नुपरेको छ ।’ सरकारले निर्णय गरेर नियमन नगरिदिँदा किसानलाई समस्या भएको उनको भनाइ छ । कार्यविधि बनाउन ढिलाइ गर्दा किसानले मूल्य पाउन नसकेको अध्यक्ष बस्नेतले बताए । ‘किसानको नजिकको सरकार भनेकै स्थानीय तह हो, केन्द्रले समर्थन मूल्य तोकेपछि पालिकाहरूले खरिद गर्ने, भण्डारण गर्ने, स्थानीय क्षेत्रमै खपत नभए अन्य पालिकामा खपत गराउने गर्नुपर्थ्यो,’ उनले भने, ‘तर कार्ययोजना नबन्दा समस्या देखियो । समर्थन मूल्यको फाइदा बिचौलियालाई भयो ।’ रासस

 

सम्बन्धित् समाचार