गृहपृष्ठ कृषि रुपन्देहीको तिलोत्तमा ६० बिगाहा क्षेत्रफलमा सामूहिक आलु खेती सुरु

रुपन्देहीको तिलोत्तमा ६० बिगाहा क्षेत्रफलमा सामूहिक आलु खेती सुरु

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा यो वर्षबाट ६० बिगाहा क्षेत्रफलमा आलुको सामूहिक खेती सुरु गरिएको छ । कोरोना महामारीमा स्थानीय स्तरमैं रोजगारीका अवसर सिर्जना गर्दै आलुको उत्पादन बढाउन नगरपालिकाले किसानलाई व्यवसायिक आलु खेती तर्फ अग्रसर गराएको हो ।

किसानलाई ज्ञान, सीप तथा प्रविधिमा सहयोग पुर्याउन नगरपालिका र युएनडिपीको सहयोगमा प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आलुको बिजवृद्धि परियोजना सञ्चालन गरेको छ । निर्वाहमूखी खेतीप्रणालीको अन्त्य गरी चक्लाबन्दी र सामूहिक खेतीमा किसानलाई प्रोत्साहन गर्न सहकारीमार्फत् आलुको व्यवसायिक खेती परियोजना सञ्चालन गरिएको नगर प्रमुख बास्ुदेव घिमिरेले जानकारी दिए ।

यसअघि घरपरिवारको लागि मात्र खपत हुने आलु खेती गर्ने किसानले यो वर्ष परियोजनाअन्तर्गत् सात बिगाहासम्मको एउटै प्लटमा आलु खेती गरेका छन् । विभिन्न वडाका २० वटा समूह सामूहिक आलु खेतीमा आवद्ध रहेको सहकारी संस्थाकी अध्यक्ष सीता न्यौपानेले बताईन।

नगरपालिका र युनएनडिपीको दुई÷दुई करोड लागत सहभागितामा सञ्चालन गरिएको परियोजनामार्फत् किसानलाई अनुदानमा बिउ, मलखाद, कृषि उपकरण उपलब्ध गराइएको छ । यस्तै किसानलाई आलुखेतीको बारेमा आवश्यक ज्ञान, सीप प्रदान गर्न कृषि प्राविधिक तथा विज्ञ नियुक्त गरिएको छ ।

यो वर्ष बिजवृद्धिको लागि अधिकांश क्षेत्रमा पहिलो र दोस्रो पुस्ताको आलु खेती गरिँदै छ । यो वर्ष उत्पादित आलुलाई अर्को वर्ष बिऊको रुपमा बिक्री गर्नेगरी कोल्डस्टोरमा राख्नेसम्मको योजना रहेको सहकारीकी व्यवस्थापक जमुना गिरीको भनाइ छ । परियोजनाले समूहलाई आलुको ड्याङ्ग बनाउने, उकेरा लगाउने, फसल खन्ने लगायतका काममा प्रयोग हुने १७ लाख मूल्य बराबरका ११ वटा पावर टे«लर मेसिन उपलब्ध गराएको छ ।

 

नगर प्रमुख घिमिरेले आलुबाहेक अन्य सिजनमा समेत सामूहिक र चक्लाबन्दी खेती गर्न किसानलाई आग्रह गर्दै चक्लाबन्दीमा खेती गर्ने किसानलाई नगरपालिकाले सधैं प्रोत्साहन गर्ने बताए व्यवसायिक खेती गर्ने किसानलाई सरकारी अनुदानमा प्राथमिकतामा राखिएको घिमिरेको भनाइ छ । यस क्षेत्रमा गुणस्तरीय बिऊ उपलब्ध नभइरहेको अवस्थामा परियोजनाअन्तर्गत् उत्पादित बिऊले आगामी वर्षहरुमा आलुको उत्पादन वृद्धिमा ठूलो टेवा पुर्याउने नगरपालिकाको अपेक्षा छ ।

निर्वाहमूखी आलु खेती गरेका किसानले मूल्य चुकाउँदा समेत गुणस्तरीय बिउ नपाउँदा लागतअनुसारको उत्पादन लिन सकेका छैनन् । नगरपालिकाले आलु उत्पादक कृषक समूहलाई दिगो बनाउन आगामी वर्षमा समेत बजेटको यथोचित व्यवस्था गर्ने नगर प्रमुख घिमिरेले बताए आलुको आयात प्रतिस्थापन गर्न यस्ता कार्यक्रम प्रभावकारी बन्ने नगरपालिकाको विश्वास छ ।

 

सम्बन्धित् समाचार