
काठमाडौं : बलिउड अभिनेता अमिताभ बच्चनविरुद्ध प्रहरीमा उजुरी परेको छ। भारतको लोकप्रिय रियालिटी क्वीज शो ‘कौन बनेगा करोड’ (केबीसी)ले अमिताभलाई विवादमा तानेको हो। पीटीआईका अनुसार शोका निर्माता र सञ्चालक बच्चनविरुद्ध भाजपाबाट प्रतिनिधित्व गर्ने महाराष्ट्रका विधायक अभिमन्यु पवारले लातुर जिल्ला प्रहरीमा उजुरी दर्ता गराएका हुन्। पवार लातुरको औसाबाट प्रतिनिधित्व गर्छन्।
अमिताभको कार्यक्रम केबीसीको शुक्रवार प्रसारित कर्मवीर एपिसोडमा सोधिएको एक प्रश्नले हिन्दु र बौद्ध धर्मावलम्वीको भावनामा चोट पुर्याएको सांसद पवारको आरोप छ।
लातुरका एसपी निखिल पिंगलेलाई पवारले उजुरी दिएका हुन्। उजुरीपत्रमा प्रश्न सोध्ने अमिताभ बच्चनविरुद्ध एक्सन लिन माग गरिएको छ। पवारले उजुरीपत्र ट्वीटरमा राख्दै लेखेका छन्, ‘हिन्दुहरुलाई बदनाम गर्ने प्रयास गरिएको छ। साथै बुद्ध र हिन्दुहरुलाई एक अर्काबाट अलग देखाउने प्रयास गरिएको छ। जबकी यी दुबै लामो समयदेखि प्रेमपूर्ण तरिकाबाट बसिरहेका छन्।’
पवारले प्रश्नका चारै विकल्प हिन्दु धर्मसँग सम्बन्धित भएको उल्लेख गर्दै यो प्रश्न पछाडिको नियत हिन्दुहरुको भावनामाथि खेलवाड गर्नु भएको दावी गरेका छन्।
पवारले उक्त प्रश्नले हिन्दु धार्मिक ग्रन्थ जल्ने र हिन्दु तथा बौद्ध धर्मका अनुयायीबीच दुश्मनीको सन्देश फैलाउने भन्दै चिन्ता व्यक्त गरेका छन्। यो प्रकरणमा उनले सोनी इन्टरटेनमेन्टको प्रतिक्रिया समेत माग गरेका छन्।








