
कपिलवस्तु : कपिलवस्तुको दोश्रो ठूलो नाका सुठौली भन्सारमा चालु आर्थिक वर्ष २०७७र०७८ को तीन महिनामा लक्ष्यभन्दा ३ गुना राजस्व संकलन भएको छ। चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिना गरी कुल ३६ करोड १ लाख १६ हजार ७१९ रुपैयाँ राजस्व संकलन भएको हो।
चालु आर्थिक वर्षको ३ महिनाका लागि १२ करोड ११ लाख १० हजारको लक्ष्य तोकिएको भन्सार प्रमुख तिर्थराज पासवानले बताए। गत वर्षको यही ३ महिनामा ७ करोड ८ लाख ७२ हजार राजस्व उठेको थियो। साउनमा १० करोड २४ लाख १५ हजार, भदौमा ११ करोड ५७ लाख र असोजमा १४ करोड १९ लाख र राजस्व उठेको भन्सार प्रमुख पासवानले बताए। चालु आर्थिक वर्षका लागि ५३ करोड ४० लाख ३० हजार लक्ष्य दिइएको छ।
स्तरोन्नती भएको ढेड वर्षपछि सुठौलीमा अहिले राजस्व संकलन राम्रो भएको प्रमुख पासवानले बताए। कृष्णनगर र रुपन्देहीको बैलहिया नाकाको बीचमा पर्ने भन्सारले अहिले बिस्तारै प्रगति गर्दै गएको उनले बताए। कोरोना भाइरसको बेला समेत लक्ष्यको करिब ३ गुना राजस्व उठ्नु आर्फैमा राम्रो संकेत भएको उनले बताए।
यो नाकाबाट कृषिजन्य सामाग्रीहरु र टायल्स भारतबाट बढी आयात हुने गर्दछ। संकलित राजस्व मध्ये चामल, आलु प्याज लगायतका सामाग्रीबाट उठेका हो। भन्सारका नासु शिवकुमार कुशशवाका अनुसार आर्थिक वर्ष २०७६र०७७ मा ४७ करोड ९५ लाख ८ हजार ३५२ रुपैयाँ राजस्व संकलन भएको थियो।







