गृहपृष्ठ खबर कोरोनाले मरे भने…

कोरोनाले मरे भने…

whatsapp sharing button

२०७७ कार्तिक २२ गते

कोरोनाले मरे भने,

नछाप्नु लेखेर रिप् इन्स्टाग्राममा

भो ! नराख्नु,

रोएको स्माइली

फेसबुकको भित्तामा ।

अनि, नलेख्नु तिम्रा समवेदनाहरु

अङ्ग्रेजी अक्षरहरुमा ।

सक्छौ भने, भ्रष्टाचार र शोषण

विरुद्धको मेरो लडाइलाई

तिम्रो शक्ति थपेर दौडाइदिनु ।

मेरा अपुरा सपनाहरु

ती जवानहरुको लक्ष्यमा जोडिदिनु ।

मैले उठाएका दिवारहरुमा

मजवुत ढलान गरिदिनु ।

कोरोनाको उपचारमा संक्रमित भै

ज्यान गुमाएका ती

निष्ठावान् चिकित्साकर्मीहरुलाई

शहीद घोषणा गरिदिनु ।

मेर‍ो सलामी ठोकिदिनु ।

 

कोरोनाले मरे भने,

डुबिसकेको मेरो देशको टाईटेनिक

पुन: संचालनमा ल्याइदिनु ।

मेरो देशमा गडिएका

नातावाद, कृपावाद, गुटवाद्

भ्रष्टाचार र अत्याचारका राजनैतिक

रोगहरु अन्त्येष्टि मै जलाइदिनु ।

राजनिती समाज र जनताको

समृद्धि र विकास मात्र हो भन्ने

मन्त्र पढाईदिनु ।

सक्छौ भने, उपचार खोजी

कोरोनालाई परास्त गरिदिनु ।

आउने सन्ततिलाई बचाइदिनु ।

 

कोरोनाले मरे भने,

नगर्नु हेलचेक्य्राइँ अनि नलाउनु फुर्ती

तिमीलाई पनि सर्न सक्छ ।

नहाँस्नु कदापी अरुको देखेर

तिमीलाई पनि एकदिन ढाल्न सक्छ ।

छि छि र घृणा नगर्नु रोगीलाई,

तिमीलाई पनि यसले मार्न सक्छ ।

भुस्याहा कुकुर फाले जस्तै

प्लाष्टिक बेरेर मेरो लाश नफाल्नु ।

न मुजरिम हुँ, न म आतंककारी

इज्जत साथ परैबाट सलामी

ठोकी मेरो अन्तिम संस्कार गरिदिनु

कोरोनाले मरे भने… ।

सम्बन्धित् समाचार