नेपाली काँग्रेसले आगामी छठ पर्वपछि संसदको विशेष अधिवेशन आह्वानका लागि दवाव दिने भएको छ । गत असोज दोश्रो साता काँग्रेस पदाधिकारी बैठकले विशेष अधिवेशन बोलाउन दवाव दिने निर्णय गरेपनि प्रक्रिया अघि बढाएको छैन । यसका लागि अन्य दलको पनि सहयोग चाहिने भएकोले अनौंपचारिक छलफल भइरहेको प्रतिनिधिसभामा काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।
संसदको विशेष अधिवेशन बोलाउनका लागि प्रतिनिधिसभामा कूल सांसद प्रतिनिधिसभा २७५ को एक चौथाई अर्थात ६९ सांसद चाहिन्छ, तर काँग्रेससँग ६३ जना सांसद छन् । यसका लागि उसले अन्य दलबाट कम्तिमा ६ सांसदको सहयोग लिनुपर्ने हुन्छ । यसका लागि संसदको अर्को प्रतिपक्षी दल जनता समाजवादी पार्टीसँग अनौंपचारिक छलफल भएको र आगामी छटपछि निष्कर्षमा पुग्ने प्रमुख सचेतक खाँणले जानकारी दिए ।
गत असार १८ गते सरकारले बर्षे अधिवेशन अन्त्य गरेसँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा जनता समाजवादीका नेताहरुसँग संसदको विशेष अधिवशेनका लागि दवाव दिनेबारे छलफल भएको थियो । तर त्यस यता यी दुई दलबीच औपचारिक छलफल भएको छैन् । सरकारले अचानक वर्षे अधिवेशन अन्त्य गरेपछि काँग्रेसले असन्तुष्टि जनाएको थियो ।
प्रतिनिधिसभा नियमावली २०७५ को दफा ३ को उपदफा ३ मा प्रतिनिधि सभाको अधिवेशन चालू नरहेको वा स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी संविधानको धारा ९३ को उपधारा ३ बमोजिम प्रतिनिधिसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्यले राष्ट्रपति समक्ष लिखित अनुरोध गरेमा निजले त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्ने ब्यवस्था गरिएको छ ।








