बुटवल : आफ्नै बाबुको चक्कु प्रहारबाट रुपन्देहीमा एक किशोरको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ११ सञ्जिवनीका ४३ वर्षीय शेरबहादुर गुरुङले आफ्नै छोरा १९ वर्षीय पदम बहादुर गुरुङलाई चक्कु प्रहार गरेका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शनिबार सांझ चक्कु प्रहारबाट गम्भिर घाईते भएका पदमको राती मृत्यु भएको हो ।
रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक खड्क बहादुर खत्रीका अनुसार बाबुको चक्कु प्रहारबाट बायाँ खुट्टाको तिघ्रामा गम्भिर चोट लागेका पदमको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गरि घर पठाईएको थियो ।
खुट्टामा ३ वटा टांका लगाई अस्पतालबाट घर गएका पदम राती ११ बजेतिर एक्कासी बेहोस भएको र पुनः अस्पताल ल्याएपनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले पदमलाई चक्कु प्रहार गर्ने बाबु शेर बहादुर गुरुङलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरेको जनाएको छ ।