गृहपृष्ठ खबर राजा वीरेन्द्रको निजी निवास आइतबारबाट अवलोकन गर्न पाइने

राजा वीरेन्द्रको निजी निवास आइतबारबाट अवलोकन गर्न पाइने

नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आइतबारबाट अवलोकनका लागि खुल्ला हुने भएको छ ।

शनिबार दिउँसो २ बजे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन खुला भएको औपचारिक शुभारम्भ गर्ने र आइतबारबाट सर्वसाधारणले अवलोकन गर्न पाउने नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, छोरी श्रुति र छोरा नीराजन श्री सदनमा बस्थे । २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नास भएदेखि श्री सदन बन्द छ । २०७७ वैशाख १ गतेको नयाँ वर्षको दिनदेखि श्री सदन खुला गर्ने योजना भए पनि कोरोना संक्रमण र बन्दाबन्दीका कारण पछि धकेलिएको थियो ।

आइतबारबाट ‘श्री सदन’ का साथै गणतन्त्र स्मारकसमेत अवलोकनका लागि खुल्ला हुने दाहालले बताए । २०७६ जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र स्मारक उदघाटन गरे पनि अवलोकनका लागि खुल्ला भएको छैन ।

सम्बन्धित् समाचार