गृहपृष्ठ खबर गुल्मीमा गाउँपालिकाले बाँझो खेत जोतिदिएपछि किसानले धान फलाए

गुल्मीमा गाउँपालिकाले बाँझो खेत जोतिदिएपछि किसानले धान फलाए

प्रकाशित मिति:

गुल्मी स् गुल्मीको गुल्मीदरबार गाउँपालिकाले बाँझो खेत जोतिदिएपछि स्थानीय किसानका खेतमा अहिले धान झुलेको छ। कोभिड विशेष कार्यक्रम अन्तर्गत झण्डै एक सय रोपनी बाँझो जग्गा जोतिदिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए। खेतमा पहिलो चरणमा राख्ने रासायनिक मल पनि प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाको वडा नम्बर ६, कुमालटारीमा १०० रोपनी बाँझो खेत जोती धान खेती गरिएको छ। कुमालटारी खाद्यान्न तथा तरकारी उत्पादक कृषक समूहका सदस्य बद्रीनाथ अर्यालले गाउँपालिकाले ट्याक्टरको प्रयोग गरी निःशुल्क रूपमा खेत जोतिदिएकोले आफूहरूमा काम गर्ने उत्साह पलाएको बताए।

अर्का किसान यमबहादुर शाहीले १२ वर्षदेखि बाँझो खेतमा अहिले यसरी लहलह धान झुल्ला भनेर आफूले नसोचेको बताए। गाउँपालिकाले बाँझो जग्गा जोतिदिने अभियान ल्याएपछि कुमालटारीका युवा सामुहिक खेतीतर्फ आकर्षित भएका छन्।

अहिले करिब ३० जनाको ६० रोपनी खेतमा १५ जना मिलेर सामूहिक धानखेती गरेका छन्। जसमा ७५ हजार लागत परेको र १०० मुरी धान उत्पादन गर्ने लक्ष्य छ।

समान परिश्रम र समान प्रतिफल हुने नियम बनाइएको छ। कुमालटारीमा मात्रै एक सय रोपनी खेतमध्ये व्यक्तिगत र सामूहिक गरी कुल ८५ मुरी धान उत्पादन भइसकेको शाहीले बताए।

गाउँपालिकाले प्राविधिक सहयोग, खेत जोतिदिने कार्य र मलमा करिब १ लाख ५० हजार रुपैयाँ खर्च गरेको जानकारी दिएको छ।

सम्बन्धित् समाचार