गृहपृष्ठ खबर दाङका १० क्रसर उद्योग १५ दिनभित्र बन्द गर्न प्रशासनको निर्देशन

दाङका १० क्रसर उद्योग १५ दिनभित्र बन्द गर्न प्रशासनको निर्देशन

दाङ : सरकारले दाङका १० वटा क्रसर उद्योगलाई १५ दिन भित्र बन्द गर्न निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय दाङको अगुवाई र विभिन्न सरकारी कार्यालयको सहभागितामा गरिएको अनुगमनका क्रममा १० वटा क्रसर उद्योगलाई १५ दिनभित्र बन्द गर्न निर्देशन दिईएको हो।

बालुवा प्रशोधन गर्ने गरी उद्योग दर्ता गरेको तर क्रसर उद्योग नै सञ्चालन गरेको पाइएपछि ती १० उद्योगलाई बन्द गर्न निर्देशन दिइएको हो। जिल्ला प्रशासन कार्यालय दाङले आइतबार पत्रकार सम्मेलन गरेर गृह मन्त्रालयले कार्तिक २५ गते जारी गरेको परिपत्र अनुसार अनुगमन गरि उद्योगको अवस्थाका बारेमा जानकारी दिएको हो।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले १२ वटा क्रसर उद्योग दर्ता भएका मध्ये १० वटा सञ्चालनमा रहेका र सबै वैधानीक ढंगले चलेको जानकारी दिए।

त्यसैगरी, ३२ वटा बालुवा प्रशोधन उद्योगका नाममा दर्ता भएको र ६ वटा बन्द भएको पाइएको छ। ति मध्ये २६ वटा सञ्चालनमा रहेका र १० वटाले क्रसर उद्योग समेत चलाएको पाइएको हो।

बन्द गर्न निर्देशन दिइएका उद्योगमा स्वर्गद्वारी स्किृनप्लान्ट प्रालि, जनविश्वास बालुवा बासिङ उद्योग, गणेश बालुवा वासिङ उद्योग, के एण्ड एस बालुवा प्रशोधन वासिङ उद्योग, मंगलम बालुवा प्रशोधन उद्योग, बागरबाबा बालुवा प्रशोधन उद्योग, पाण्डवेश्वर बालुवा वासिङ उद्योग, जयवागेश्वरी बालुवा प्रशोधन उद्योग, दाङ एग्रीगेट बालुवा वासिङ उद्योग र पूर्णागिरी एग्रीगेट बालुवा वासिङ उद्योग रहेका छन्।

 

सम्बन्धित् समाचार