गृहपृष्ठ खबर मजदुरहरु नै हडतालमा उत्रिएपछि बुटवल–नारायणगढ सडक निर्माण ठप्प

मजदुरहरु नै हडतालमा उत्रिएपछि बुटवल–नारायणगढ सडक निर्माण ठप्प

नवलपरासी : पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक विस्तारका मजदुरहरुले हडताल गरेका कारण तीन दिनदेखि काम रोकिएको छ । सडक फराकिलो पार्ने ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले डेढ महिना अवधिको २ सय ५० मजदुरको ज्याला नदिएको भन्दै मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् ।

गत शनिबारबाट सडक विस्तारको काममा खटाइएका २ सय ५० मजदुरहरुले काम रोकेर आन्दोलन ठप्प पारेका छन् । काम गरेको तलब नपाएका मजदुरहरुले गत शनिबारदेखि रजहरको टांगिकोटमा रहेको ठेकेदार कम्पनीको साइट अफिस घेराउ गरेका छन् । उनीहरुले काम गरेको ज्याला नपाएको भन्दै आन्दोलन गरेका छन् । बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत दाउन्ने गैंडाकोट सडकखण्डका मजदुर आन्दोलनमा उत्रिएका हुन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघ पूर्वी नवलपरासीका अध्यक्ष सानुकाजी डंगोलले मजदुरहरुलाई काममा लगाएर भुक्तानी नदिएका कारण आन्दोलन गरिएको टेलिफोनमा जानकारी दिए । उनले मजदुरहरुलाई बिना नियुक्ति ठेकेदारमार्फत काममा लगाइएको, दैनिक १२ घण्टासम्म काममा खटाएर ८ घण्टाको मात्र तलब दिने गरेको, काममा खटिँदा मजदुरले लगाउन पर्ने सेफ्टी ड्रेस ९हेल्मेट, पन्जा,जुत्ता० नदिएको, दुर्घटना बिमा, कामदारलाई यातायात सुविधा, शनिबार र ओभरटाइम काम गराउँदा डेढ गुणा बढी तलब पाउनुपर्ने, दक्ष कामदारको र सामान्य मजदुरका तलब फरक हुनुपर्ने, कारण बाध्य भएर मजदुरहरु आन्दोलनमा उत्रिएको बताए ।

मजदुर हडतालका कारण राजमार्ग विस्तारको काम रोकिएको छ । सडक फराकिलो पार्ने काममा खटिएका मजदुरले चाइना कम्पनीका प्राविधिकहरुलाई पनि फिल्डमा काम गर्न रोक लगाएका छन् । यसले सडक विस्तारको काम पूरै रोकिएको छ ।

मजदुरहरुले जिल्ला प्रशासन कार्यालय, गैंडाकोट, देवचुली र कावासोती नगरपालिकामा समेत आइतबार १४ बुँदे ज्ञापनपत्र बुझाएर मजदुरलाई ज्याला नदिइ काममा लगाएको भन्दै तलब लगायतका सुरक्षाको प्रत्यभूति गर्ने व्यवस्था गरियोस् भन्ने माग गरेका छन् ।

 

सम्बन्धित् समाचार