गृहपृष्ठ विविध ६१ वर्षकी हजुरआमाले आफ्नै नातिनी जन्माइन्, थाहा पाउनुहोस् कसरी ?

६१ वर्षकी हजुरआमाले आफ्नै नातिनी जन्माइन्, थाहा पाउनुहोस् कसरी ?

प्रकाशित मिति:

अमरिकी राज्य नेब्रास्कामा एक ६१ वर्षीया महिलाले आफ्नै नातिनीलाई जन्म दिएकी छिन् ।

 

उनी आफ्ना समलिङ्गी छोरा र उनका श्रीमानका लागि सरोगेट बनेकी थिइन् । बालिकाको जन्मपछि परिवारको खुसीको कुनै सीमा छैन ।

सेसिल एलेगले आफ्ना छोरा म्याथ्यू एलेग र उनका श्रीमान् एलियट डफर्टीकी छोरीलाई आफ्नो कोखमा राखिन् र गत हप्ता उमा लुईसलाई जन्म दिइन् ।

सेसिलका अनुसार उनका छोरा र एलियटले परिवार सुरु गर्नेबारे पहिलो पटक कुरा गर्दा नै आफू सरोगेट बन्ने प्रस्ताव राखेकी थिइन् ।

सेसिलले भनिन्, ‘मैले यसो भन्दा उनीहरु हाँसिरहेका थिए ।’

त्यतिबेला उनको उमेर ५९ वर्षको थियो । सुरुमा आफ्नो प्रस्तावलाई परिवारले गम्भीरताका साथ नलिई ठट्टाको रुपमा हेरे ।

सेसिलका लागि उनका छोराका श्रीमान् एलियट डफर्टी भन्छन्, ‘यो उनको तर्फबाट आएको असाध्यै सुन्दर भाव लाग्यो । उनी एक निःस्वार्थ महिला हुन् । ’

तर सेसिलको घर नजिकै बस्ने म्याथ्यू र एलियटले जब आफ्नो सन्तानलाई जन्म दिने विकल्पको खोजी सुरु गरे तब डाक्टरले यो एक राम्रो विकल्प हुनसक्ने बताए ।

डाक्टरले सेसिलसँग कुराकानी गरे र उनका थुप्रै परीक्षण पनि गरिए, त्यसपछि मात्रै सरोगेसीका लागि हरियो झण्डा पाए ।

उनी भन्छिन्, ‘म स्वास्थ्यको निकै ख्याल राख्छु । बच्चालाई आफ्नो कोखमा राख्न सक्दिनँ कि भन्ने कुनै पनि शंका मनमा थिएन । ’

म्याथ्यूले आफ्नो शुक्रकिट दिए र एलियटकी बहिनी ली ‘एग डोनर’ बनिन् ।

हेयर ड्रेसरको रुपमा काम गर्ने एलियट भन्छिन्, ‘स्ट्रेट कपलले आइभीएफलाई अन्तिम उपाय मान्न सक्छन् तर हामीहरुका लागि बायोलोजिकल बच्चाका लागि यहि एकमात्र आशा थियो ।’

एक विद्यालयमा पढाउने म्याथ्यू भन्छन्, ‘हामीलाई सधैं थाहा थियो कि हामी सबैभन्दा अलग हुनुपर्नेछ र यसका लागि केही भिन्न सोच्नुपर्नेछ ।’

सेसिल भन्छिन्, ‘गर्भावस्थामा कुनै जटिलता भएन । तर तीन सन्तान गर्भमा हुर्कँदा भन्दा साधारण लक्षण अलि बढी नै थिए ।’

उनको उमेरको सबैभन्दा स्पष्ट संकेत त्यतिबेला देखियो जब सेसिलको कोखमा भ्रुण इम्प्लान्ट गरेको केही दिन मात्रै बितेको थियो ।

एक हप्ताभन्दा पनि कम भएको थियो र म्याथ्यू र एलियटले प्रेग्नेन्सी टेस्ट किट ल्याए, भ्रुुण सफलतापूर्वक ट्रान्सफर भए नभएको हेर्न ।

सेलिस हाँस्दै भन्छिन्, ‘हामीलाई अहिले नै परीक्षण नगर्न भनिएको थियो तर केटाहरुले प्रतिक्षा गर्न सकिरहेका थिएनन् ।’

सेसिलले परीक्षण गरिन्, नतिजा नकारात्मक आयो, उनी टुटिन् । तर जब म्याथ्यू आमालाई सम्हाल्नका लागि त्यो दिन बेलुका घर आए तब उनले त्यो देखे जुन उनकी आमाले देख्न सकिनन् । टेस्ट किटमा अर्को गुलाबी रेखा देखिएको थियो । यसले गर्भ बसिसकेको पुष्टि भइरहेको थियो ।

सेसिल भन्छिन्, ‘केटाहरुले हाँस्दै भन्न थाले, ‘आमा तिम्रो आँखाको ज्योति कम भएको छ ।’’

उनी थप्छिन्, ‘त्यो निकै नै खुसीको पल थियो ।’

सेसिल म्याथ्यू र एलियटको कुरा या गर्दै भन्छिन्, ‘ उनी केही कुरा देख्न सक्दिनन् होला तर बच्चालाई पक्कै पनि जन्म दिनेछिन् ।’

सेसिल भन्छिन्, ‘मेरो गर्भावस्थाको विषयमा धेरैको प्रतिक्रिया सकारात्मक थियो तर मानिसहरु अचम्मित पनि भए, विशेषगरी मेरा आफ्नै सन्तान र म्याथ्यूका भाइ–बहिनी ।’

‘जब सबैलाई वास्तविकता थाहा भयो तब सबैले समर्थन दिए ।’

तर यो घटनाले नेब्रास्कामा एलजीबीटी परिवारविरुद्ध भेदभावलाई उजागर गरेको छ ।

अमेरिकी राज्य नेब्रास्कामा समलिङ्गी विवाहले कानूनी मान्यता पाएको छ । सन् २०१५ मा सर्वोच्च अदालतको ऐतिहासिक निर्णयपछि नै यस्ता विवाह हुँदै आएका छन् । तर नेब्रास्कामा सेक्सुअल ओरियन्टेशनको आधारमा हुने भेदभावमा प्रतिबन्ध लगाउने कुनै कानून नै छैन ।

सेसिलका अनुसार उनले आफ्नो गर्भावस्थाका बेला भएको खर्चका लागि बीमा कम्पनीसँग लड्नुपर्यो । बच्चा जन्माउँदा बीमा कम्पनीले दिने रकम उनले यसपटक पाइनन् र यो लडाईंमा उनी असफल भइन् ।

कानूनले जन्माउने व्यक्तिलाई बच्चाको आमा मान्छ, त्यसैले उमाको जन्म प्रमाणपत्रमा सेसिल र उनका छोराको नाम छ । जबकी एलियटको नाम कतै पनि छैन ।

म्याथ्यू भन्छन्, ‘यो ती कुराका एउटा सानो उदाहरण हो जसले हाम्रो आङ सिरिङ्ग बनाउँछ ।’

म्याथ्यू चार वर्ष अघि पनि चर्चामा आएका थिए जब उनलाई स्कूलको जागिरबाट निकालिएको थियो किनभने उनले स्कूल प्रशासनलाई आफूले एलियटसँग विवाह गर्ने योजना बनाइरहेको जानकारी दिएका थिए ।

उमा जन्मिएको एक हप्तापछि सेसिलले आफू र आफ्नी नातिनी स्वस्थ भएको बताएकी छिन् ।

सेसिल भन्छिन्, ‘यी बालिकालाई समर्थन गर्नका लागि उनको वरिपरि थुप्रै मानिसहरु उपस्थित छन् । यो एक प्यारो परिवारमा हुर्कने छिन् ।’

अन्त्यमा उनी भन्छिन्, ‘यो सब यसरी नै हुने निश्चित भइसकेको थियो ।’ –बीबीसी

सम्बन्धित् समाचार