गृहपृष्ठ खबर विभेदपूर्ण लिङ्ग छनोटको समस्याः गर्भमै मारिन्छन् छोरी

विभेदपूर्ण लिङ्ग छनोटको समस्याः गर्भमै मारिन्छन् छोरी

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका– १० महिलवारकी एक महिलाले छोराको चाहनामा तीन पटकसम्म गर्भपतन गराइन् । पहिलो सन्तान छोरी जन्मिएपछि दोस्रोपटक गर्भवती हुँदा उनले भैरहवास्थित मेडिकलमा अल्ट्रासाउन्ड (भिडियो एक्स–रे) गराइन् । भु्रणको सन्तान छोरी भएको थाहा पाएपछि उनले गर्भपतन गराइन् । गर्भको शिशु छोरी रहेको थाहा पाएपछि उनी अर्कोपटक पनि गर्भ तुहाउन विवश भइन् । किनकी उनका श्रीमान् र परिवारलाई छोरी चाहिएको थिएन । जसरी हुन्छ छोरा जन्माउन उनलाई दबाब थियो ।

मेडिकलमा पाँचौं पटकमा गर्भ जाँच गर्दा पेटको शिशु छोरा रहेको रिपोर्ट पाइन् । छोराप्रति अति मोह रहेको परिवारमा केही हप्ता, महिना एकखालको खुशी छायो । सायद जाँचको प्राविधिक त्रुटीले होला छोरी जन्मिइन् । “परिवारका सदस्य प्रायः अस्पतालमै थिए, छोरी जन्मेको थाहा पाएपछि जिब्रो टोके । श्रीमान् त मसँग बोल्दा पनि बोल्नुभएन । सुत्केरी व्यथा त छँदैछ, त्यसमाथि छोरी जन्माउनुपर्दाको पीडा थपियो । छोरीप्रतिको परिवारको दृष्टिकोणले मलाई थप पीडा दियो”, उनले दुःखेसो पोखिन् ।

नचाहँदा नचाहँदै पनि छोरी जन्मिएपछि उनले शारीरिक, मानसिक र सामाजिकरुपमा यति  पीडा सहनुपर्यो कि, जसको कुनै लेखाजोखा छैन । “न त जेठो छोरीले माया र सम्मान पाएकी छ, न त छोरा भनेर जन्माइएकी छोरीले । परिवारमा उनीहरूको हैसियत देख्दा निकै पीडा हुन्छ”, उनले भनिन् ।

विभेदपूर्ण लिङ्ग छनोट गरी गैरकानूनी तरिकाले पटकपटक गर्भपतन गराएका कारण उनको शारीरिक अवस्था कमजोर छ । उनले भने, “अवसर पाए छोरीले पनि सबै काम गर्न सक्छन् भन्ने थाहा नभएको होइन । तर पारिवारिक दबाबका कारण तीनपटक  छोराको चाहनामा गर्भपतन गराउन बाध्य भएँ ।” गर्भपतनकै कारण उनको तल्लो पेट दुखिरहन्छ । दुब्लाएर शरीर पातलो छ । मानसिक तनावका कारण टाउको दुख्ने, रिङ्गटा लाग्ने समस्या छ । उनले १२ कक्षासम्म र उनका श्रीमान्ले स्नातक तहसम्म अध्ययन गरेका छन् । परिवारका अन्य सदस्य पनि शिक्षित नै छन् तर छोराछोरीप्रति समान बुझाइ भने कसैको छैन ।

तिलोत्तमा नगरपालिकाको शङ्करनगर बस्ने अर्की एक महिलाले पनि छोरोको चाहनामा गर्भपतन गराइन् । पहिलो सन्तान छोरी भएका कारण छोरा जन्माउने चाहनामा उनले लिङ्ग छनोट गरी छोरी भएको थाहा पाएपछि गर्भपतन गरिन् । “मेरो श्रीमान् एउटै छोरा भएकाले बंश चलाउन छोरा नै चाहिन्छ भन्ने सासूससुराको दबाब भयो । स्नाकोत्तर पढेको भएर पनि उहाँलाई सम्झाउन सकिन”, श्रीमान्ले साथ दिएको भए मलाई गर्भपतन गराउन मन थिएन । तर उहाँको पनि छोराको चाहना भएकाले गर्भपतन गराउन बाध्य भएँ”, पाण्डेले दुखेसो पोखिन् । परिवारमा सासूको दबाबले गर्दा श्रीमान्ले पनि छोरा चाहिन्छ भन्छन् । पाण्डेका श्रीमान् पेशाले व्यवसायी हुन् । परिवारमा आर्थिक स्थिति पनि राम्रो छ तर छोराछोरी समान हुन् भन्ने बुझाइको कमीले गर्दा यो अवस्था सिर्जना भएको उनको भनाइ छ ।

शर्मा र पाण्डे जस्तै छोराको चाहनामा विभेदपूर्ण लिङ्ग छनोट गर्नेको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ । पहिलो सन्तान छोरी भएका प्रायः दम्पतीले गर्भ रहनासाथ लिङ्ग परीक्षण गराउने गर्छन् । समाजका शिक्षित परिवारमै पनि लैङ्गिक विभेद कायमै छ । उच्च शिक्षा अध्ययन गरेका दम्पतीले पनि विभेदपूर्ण लिङ्ग परीक्षण गराएको पाइएको छ ।

स्त्री रोग विशेषज्ञ डा.सदीक्षा चापागाईंका अनुसार रोगको निदान र उपचारमा सहयोगी सिद्ध प्रविधि र उपकरण हो– अल्ट्रासाउन्ड । गर्भवतीको परीक्षणका अलावा गर्भाशयमा रहेको शिशुको अवस्था, सम्भावित खतरा र शिशुमा देखिन सक्ने वंशाणुगत गडबडीको परीक्षण गर्न र अन्य रोगको पहिचानका लागि यसको प्रयोग हुन्छ । शिशुको अवस्था पत्ता लगाउन यसको प्रयोग अनिवार्य जस्तै छ । गर्भधारणको निश्चित अवधिपछि अल्ट्रासाउन्डमार्फत भ्रूणको लिङ्ग पहिचान गर्न सकिने भएकाले यो प्रविधि गैरकानूनी गर्भपतन गराउनेको हतियार पनि बन्ने गरेको छ ।

सेवाग्राहीहरूको आग्रह र बाध्यताका कारण बढी पैसा असुल्न पाइने भएकाले भु्रणको लिङ्ग पहिचान गरिदिने र गैरकानूनी गर्भपतन गराइदिने चिकित्सक तथा स्वास्थ्यकर्मीको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको पाइएको छ । त्यस्ता स्वास्थ्यकर्मी र मेडिकलको अनुगमन गरी कुनै कारबाही नहुँदा गलत काम गर्नेहरूले प्रश्रय पाएको पनि डा.चापागाईंको बुझाइ छ ।

सम्बन्धित् समाचार