
चार नम्बर जीतपुर : कपिलवस्तुको बाणगंगा नगरपालिकामा ‘खुल्ला राष्ट्रिय पुरुष डबल्स ब्याडमिन्टन’ प्रतियोगिता सुरु भएको छ । नगरपालिकाका नगरप्रमुख मंगल प्रसाद थारुले उद्घाटन गरेसंगै प्रतियोगिता सुरु भएको हो । उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख थारुले नगरपालिका खेलकुदमैत्री भएको बताएका छन् ।
वडा नम्बर ४ वडा कार्यालयको आयोजना तथा स्थानीय शान्ति दिप क्लव डुंगहवाको संयोजनमा बुद्ध रंगशाला जितपुरमा निर्मित स्थित कभर्डहलमा आजबाट सुरु भएको ‘खुल्ला राष्ट्रिय पुरुष डबल्स ब्याडमिन्टन’ प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख थारुले बाणगंगा खेलकुदमैत्री भएकै कारण यहाँ खेल गतिविधि बढेको बताएका हुन् । जिल्लामै पहिलोपटक नगरमा राष्ट्रिय स्तरको ब्याडमिन्टन आयोजना हुनुले नगरपालिकाको गौरव बढेको भन्दै आगामी दिनमा पनि यस्ता प्रतियोगिता गर्न सघाउने बताए । उनले अब पुरुष मात्रै नभई महिला प्रतियोगिता पनि गरिए विभेद नहुने पनि बताए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि उप प्रमुख चक्रपाणी अर्यालले लागु पदार्थ दुव्र्यसनीमा लागेका युवालाई समाज रुपान्तरणमा लगाउन प्रतियोगिता गरिनु अनुकरणीय भएको बताए । यस्ता प्रतियोगिताले स्वस्थ समाज निर्माण गर्न सघाउने उनको भनाई छ ।
उद्घाटन कार्यक्रममा वडा नम्बर १ का वडाअध्यक्ष बाल कुमारी पन्त अधिकारी, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, बाणगंगा यातायातका अध्यक्ष विष्णु न्यौपाने, कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष रामजी सेन, खेलकुदका कार्यलय प्रमुख मिन प्रसाद पोख्रेल, पूर्व अध्यक्ष छवि रेश्मी, जिल्ला फुटवल संघका अध्यक्ष तिलक थापा, सिद्धार्थ बजार विकास समितिका अध्यक्ष विष्णु थापा लगायतले खेल सफलताको शुभकामना दिएका थिए ।
वडाध्यक्ष क्षेत्रीको अध्यक्षता, खेल संयोजक सुशिल सिं. ठकुरीको स्वागत तथा चन्द्रकान्त पोख्रेलको सञ्चालन रहेको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी खेलप्रेमीहरुको उपस्थिती रहेको थियो ।
प्रतियोगितामा विभागीय आर्मीसहितका टिमले भाग लिएका छन् भने आयोजक वडा नम्बर ४ सहित रुपन्देही, पाल्पा, नवलपरासी, दाङ लगायतबाट पनि खेलाडीले भाग लिएका छन् । दुर्वसनरहित स्वस्थ र समुन्नत समाज निर्माणको लागि खेलकुद भन्ने मूल नाराका साथमा सुरु भएको प्रतियोगिता भोलिसम्म चल्ने छ । प्रतियोगितामा लागु औषध दुव्र्यसनमा लागेर पुर्नस्थापित भइसकेका र बिभिन्न सुधारगृहमा बसिरहेका खेलाडीले पनि भाग लिएका छन् । प्रतियोगितको पहिलो दिन यो समाचार तयार पार्दासम्म १७ वटा खेल सकिएको खेल संयोजक सुशिल सिं. ठकुरीले जानकारी दिएका छन् ।
प्रतियोगितामा विजेता हुने टिमले ६६ हजार, उपविजेताले ३३ हजार र तृतीय हुने टिमले १६ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । बाणगंगा नगरपालिकामा अहिले ब्याडमिन्टनको क्रेज बढेको छ । यहाँ राष्ट्रिय स्तरको खेल खेल्न सक्ने खेलाडी पनि छन् । उनीहरुलाई थप हौसला र प्रेरणा प्रदान गर्न पनि यो प्रतियोगिता अनुकरणीय हुने आयोजकको दाबी छ ।








