
कपिलवस्तु : गत जेठ १८ मा कपिलवस्तुका किसानले उत्पादन गरेका तरकारी बिक्रीका लागि अर्घाखाँची लाँदै गर्दा बाटोमा नष्ट गरिएको थियो। कपिलवस्तुको बुद्धभुमि नगरपालिका–१० देवपुराका १० जना किसानबाट संकलन गरी लगिएको तरकारी सन्धिखर्क पुगेपछि स्थानीय व्यापारीले प्रहरीको सहयोगमा नियन्त्रणमा लिएका थिए। कोरोना भाइरस संक्रमण सर्ने भन्दै नियन्त्रणमा लिएका तरकारी नष्ट गरिएको थियो।
नष्ट गरिएको तरकारीको रकम नेपाल सरकारले भुक्तानी दिने भनी कृषिमन्त्री घनश्याम भुसालले आश्वासन दिएका थिए। मन्त्रीले आश्वासन दिएको ६ महिनाभन्दा बढी भइसक्दा समेत किसानहरुले रकम नपाएको देवपुराका किसान वालदिन केवटले बताए।
‘कृषिमन्त्रीज्युले तरकारीको रकम भुक्तानी गर्ने आश्वासन दिएपछि खुसी भएको थिएँ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तत्कालीन तरकारी जोनमा रकम लिनका लागी बिल बुझाएको थिएँ,’ उनले भने, ‘आधा वर्ष नाघी सक्यो पैसाको लागि कुरेको। मन्त्री ज्यूको आश्वासन पाइयो तर पैसा भने पाइएन।’
तत्कालीन तरकारी जोनका संयोजक रमेश केवट मुस्कानले तरकारीको रकम भुक्तानीका लागि परियोजना कार्यालयमा कागजात दिएको बताए। भुक्तानी प्रक्रियाका लागि केन्द्रसँग अनुमति माग्दा भुक्तानी दिनका लागि मन्त्रालयबाट निर्देशन नभएको जानकारी आएपछि भुक्तानी नभएको उनको भनाइ छ।
अर्घाखाँचीका तरकारी व्यापारी किशोर बानियाले गत जेठ १८ मा सन्धिखर्क पु¥याउन लगेको तरकारी प्रहरीको सहयोगमा नष्ट गरिएको थियो। स्थानीय तरकारी व्यापारी सहदेव भुसाल र रामहरि घिमिरेको नेतृत्वमा तरकारी बोकेको जिपलाई डम्पिङ साइटमा लगी फालेका थिए। तरकारी नष्ट गरिए पछि सामाजिक संन्जालमा चर्को आलोचना समेत गरिएको थियो।







