
कपिलवस्तु : नेपाली काँग्रेस कपिलवस्तुले नागरिकलाई सास्ती भएको भन्दै नेपाल भारत सिमा नाका तत्काल खोल्न ज्ञापनपत्र मार्फत माग गरेको छ । बन्द सिमा नाका खोल्न माग गर्दै नेपाली काँग्रेस कपिलवस्तुले प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो । पार्टीका जिल्ला सभापति सुरेन्द्रराज आचार्य नेतृत्वको टोलीले प्रजिअ दिर्घ नारायण पौडेललाई बुझाएको ज्ञापनपत्रको बोधार्थ गृह तथा परराष्ट्रमन्त्रीलाई समेत दिईएको छ ।
जिल्ला सभापति आचार्यले हस्ताक्षर गरेको ज्ञापनपत्रमा कोभिड संक्रमण रोकथाममा सरकारले गरेको कार्यसम्पादन प्रभावकारी नभएको, सरकारले नागरिकलाई स्वास्थ्य अधिकारको प्रत्याभुती गराउन नसकेको, अन्तरराष्ट्रिय सीमा नाका बन्द गर्ने समय सिमा सकिदा समेत सो बिषयमा सहि निर्णय लिन नसकेको आरोप लगाईएको छ । नेपाल भारत सिमा नखोल्दा नागरिकले औषधी उपचार, बिहेबारी, पारिवारीक भेटघाट, कृषी कार्यका सामाग्री लिन जाँदा अनेकौ दुखः भोग्नु परेको जनाउदै नाका बन्दको निर्णयको प्रभावकारीता शुन्य भएकाले तत्काल सिमा नाका खोल्न माग गरिएको छ ।
आफ्ना मागको सुनुवाई नगरिए कडा आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने जानकारी ज्ञापनपत्रमा दिईएको छ । सो क्रममा पार्टी आमन्त्रित केन्द्रिय सदस्य राजेश सिंह, पार्टी पुर्व जिल्ला सभापति राजेश आचार्य, प्रदेशसभा सदस्य रिना बिक, पार्टी नेता राम आशिष पाण्डेय, जिल्ला सचिव महेन्द्र पाठक, कोषाध्यक्ष शोहरत तेली, नेता ललित गुरुगं, युवा नेता राजेश ज्ञवाली, प्रकाश घिमिरे, माधव पराजुली, युवा नेता दुर्गेश पाण्डेय सहितको उपस्थिती थियो ।
सरकारले गत चैत्र ११ गते देखी मंसिर ३० गते सम्म अन्तरराष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो । सिमा बन्दको निर्णयको समय सिमा सकिए पनि सरकारले नेपाल भारत सिमा खोल्न चासो नदिदा नागरिकले सास्ती पाए पछि आफुहरु ज्ञापनपत्र दिन आएको काँग्रेसका जिल्ला सभापति आचार्यले बताउनु भयो ।









