गृहपृष्ठ खबर ओली समर्थकद्धारा नेकपा नवलपरासीको पार्टी कार्यालयमा तालाबन्दी

ओली समर्थकद्धारा नेकपा नवलपरासीको पार्टी कार्यालयमा तालाबन्दी

बुटवल : प्रधानमन्त्री केपी ओली समर्थक युवाहरूले पश्चिम नवलपरासीको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला कार्यालयमा मंगलबार दिउँसो तालाबन्दी गरेका छन्। राष्ट्रिय युवा संघ, मदन भण्डारी फाउण्डेसन र मदन भण्डारी स्पोर्टस एकेडेमीका कार्यकर्ताहरू पुगेर कार्यालयमा तालाबन्दी गरेका हुन्।

मदन भण्डारी फाउण्डेसन जिल्ला सचिवालय सदस्य सञ्जित पोखरेलले पार्टी कार्यालयको सुरक्षाका लागि तालाबन्दी गर्नु परेको बताए।

५ वर्ष सरकार चलाउने म्याण्डेड पाएका प्रधानमन्त्रीलाई व्यक्तिगत स्वार्थका कारण काम गर्न नदिएर पार्टी विभाजनमा लागेका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरू पार्टी कार्यालयमा प्रवेश गर्ने नैतिक अधिकार नभएको भन्दै तालाबन्दी गरिएको पोखरेलले बताए।

पार्टी एकीकरण हुनुअघि पूर्वमाओवादी कार्यकर्ताहरूले पार्टी कार्यालयमा आगजनी गरेकाले अहिले पनि उक्त कार्य दोहोर्‍याउन सक्ने देखेकाले कार्यालय सुरक्षाका लागि युवाहरूले तालाबन्दी गरेको नेकपा प्रतिनिधिसभा संसदीय क्षेत्र नं। २ का संयोजक थानप्रसाद गैरेले बताए।

दुई पार्टी एकीकरण हुँदा पूर्वमाओवादीका भविश्वर तिवारीको अध्यक्षतामा जिल्ला कमिटी बनेको थियो। जिल्ला कमिटीमा हाल १ सय ४५ सदस्य रहेका छन्। जसमध्ये ८० जना ओली पक्षका रहेको गैरेले दाबी गरे।

 

सम्बन्धित् समाचार