
चार नम्बर जीतपुर : निरन्तर रुपमा सामाजिक काममा सक्रिय कपिलवस्तुका युवाले जाडोमा पनि असहायलाई साहारा दिएका छन् । युवाहरुले विहिबार वाणगंगा ६ बैदौलीमा १६ वर्षदेखी सडकको किनारमा रहदै आएकी असहाय बृद्धलाई साहारा दिदै जाडो छेक्ने सानो अस्थायी घर बनाईदिएका छन् । वृद्धलाई जाडोबाट बच्न न्यानो कपडासमेत दिईएको छ ।

वडाले पनि उनको लागि स्थायी घर बनाउन जग्गा खोजेर तयार पारेको बताईएको छ । यस्तै केही दिन देखि चलिरहेको कपडा बैंकबाट पनि युवाले करिब ४५ परिवारलाई न्यानो कपडा वितरण गरेको छ ।
अहिले युवा कपिलवस्तुबाट मधु सुदन भुषाल, कोपिला गिरि, सृजना आचार्य, पशुपति गिरि, माधव आचार्य, सरोज घिमिरे, लक्ष्मण सापकोटा, सागर बन्जाडे लगायतका युवाहरु सक्रिय रुपमा अभियान सफल पार्न लागिरहेका छन् । अभियानलाई थप व्यवस्थित गर्न थप प्रयास भैईरहेको युवा अभियानताहरुले बताएका छन् ।

राष्ट्रिय झण्डा दिवसका दिन प्रशासन अगाडिको नेपालको झण्डा फेरेर युवाहरुले सबैको ध्यान आकर्षण गरेका थिए । युवाहरुले हाल “गरिब विपन्न माथि हाम्रो ध्यान, बाच्ने र बचाउने हाम्रो अभियान” भन्ने मूल नाराका साथ न्यानो कपडा वितरण अभियान संचालन गरिरहेको युवा अभियानता सरोज घिमिरेले वैखरी अनलाईनलाई जानकारी दिए ।
साथै युवाहरूले अभियानलाई सफल तुल्याउन सम्पूर्णमा सार्वजनिक अपील गरेका छन् । सबैले आफुसंग रहेका कपडा दिएर अथवा आर्थिक रुपमा सहयोग गरेर अभियानलाई सहयोग गर्न सकिने अभियानताहरुले बताएका छन् ।








