गृहपृष्ठ खबर नेकपा विवादको छिटा प्रदेश १ मा : अर्थमन्त्री इन्द्र आङ्बो बर्खास्त

नेकपा विवादको छिटा प्रदेश १ मा : अर्थमन्त्री इन्द्र आङ्बो बर्खास्त

काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अर्थमन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेका छन्। मुख्यमन्त्री विरुद्ध प्रचण्ड–माधव नेपाल समूहले अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका बेला राईले तत्कालिन माअ‍ोवादीबाट सरकारको नेतृत्व गरेका आङ्बोलाई शनिबार साँझ पदमुक्त गरेका हुन्।

मन्त्री आङ्बोले राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएको भन्दै पदबाट हटाएको मुख्यमन्त्री राईले  जानकारी दिए। ‘उहाँले मुख्यमन्त्री राईविरुद्धनै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीको नेतृत्व गरिरहेको थाहा पाएँ, त्यही भएर पदमुक्त गरेको हुँ’, उनले भने।

राई आफूले नेपालको संविधानको धारा १६९ को ९२० ९ख० बमोजिम प्रदेश सरकारका मन्त्री आङ्बोलाई पदमुक्त गरेको स्पष्ट पारे।

आङ्बोले प्रदेस सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीको रुपमा २ बर्ष १० महिना काम गरेका थिए। नरम स्वभावका आङ्बोले प्रदेश सरकारमा आर्थिक सुशासन कायम गरेर सरकारका मन्त्रीहरुमध्ये सबैभन्दा बढी लोकप्रियता कमाएका थिए। उनी आगामी दिनका सम्भावित मुख्यमन्त्रीको रुपमा चिनिन्थे।

प्रदेश सभाका ९३ सांसदमध्ये नेकपाका ६८ सांसद छन्। जसमध्ये पूर्वएमालेका ५२ र पूर्वमाओवादीका १६ जना छन्। २०७४ मा प्रदेश सभामा नेकपा एमाले संसदीय दलको निर्वाचन हुँदा अहिलेका मुख्यमन्त्री शेरधन राई विजयी भएका थिए।

उनले एमालेका तत्कालीन सचिव भीम आचार्यलाई २ मतले हराएका थिए। प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरका राईले २६ मत पाउँदा माधव नेपालनिकटका आचार्यले २४ मत पाएका थिए। एक मत बदर भएको थियो। बदर भएको मत आफूहरूकै रहेको प्रचण्ड(नेपाल पक्षको दाबी छ।

यसैबिच पदमुक्त गरिएका मन्त्री आङ्बोले मुख्यमन्त्रीलाई धन्यवाद दिएका छन् । प्रदेश सरकारमा काम गर्ने अवसर दिएको भन्दै उनले मुख्यमन्त्री शेरधन राईलाई धन्यवाद दिएका हुन् ।

‘‘प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीको रुपमा दुई वर्ष १० महिना काम गर्ने अवसर दिनुभएकोमा मा। मुख्यमन्त्री शेरधन राईलाई धन्यवाद व्यक्त गर्दछु,’’ उनले शनिबार साँझ फेसबुकमा लेखेका छन् ।

 

सम्बन्धित् समाचार