
काठमाण्डौ : ग्रील तथा स्टील व्यवसायीहरुले ग्रीलजन्य फलामको मूल्य अस्वाभाविक रुपमा बढेको बताएका छन् । व्यवसायीहरुको छाता संगठन ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले शनिबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा व्यवसायीहरुले ग्रीलजन्य फलामको मूल्य अत्याधिक, अनियन्त्रित र अस्वभाविक रुपमा बढेको बताएका हुन् ।
जसका कारण व्यवसाय नै धरासायी हुने स्थितिमा पुग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा महासङ्घका केन्द्रीय अध्यक्ष मोहन कटुवालले कोभिड-१९ को कारण बन्द भएर मारमा परेका उद्योगहरु बिस्तारै सञ्चालनमा आउन नपाउँदै ग्रीलजन्य फलाम र निर्माण सामाग्रीको अनियन्त्रितरुपमा भएको उच्च मूल्यवृद्धिले सम्पूर्ण ग्रील उद्योग बन्द हुने अवस्थामा पुगेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थ ब्लेडको मूल्यमा भएको वृद्धिभन्दा नेपाली बजारमा दोब्बर मूल्य बढेको उहाँको भनाइ छ । केही सीमित उद्योगीको आपसी मिलेमतोमा ग्रीलजन्य फलामको मूल्य बढाइएको पनि अध्यक्ष कटुवालले बताउनुभयो ।
ग्रील जन्य फलामको मूल्य अस्वभाविक रुपमा बढ्दा कोरोनाको सङ्क्रमणका कारण प्रभावित आम-उपभोक्तासमेत मारमा परेको अध्यक्ष कटुवालले बताउनुभयो । यसबाट देशभरि सञ्चालित ११ हजारभन्दा बढी ग्रील उद्योग बन्द हुने जोखिममा रहेको पनि उहाँले बताउनुभयो । यस्तै करिब १ लाख ६० हजार श्रमिक र तिनमा आश्रित १५ लाख व्यक्तिको रोजगारी गुम्ने पनि अध्यक्ष कटुवालले बताउनुभयो ।
बजारमा देखिएको अस्वभाविक मूल्यवृद्धिको अनुगमन गरी उचित कारबाही चलाउन सरकारको ध्यानाकर्षण समेत गराउनुभयो । व्यवसायीहरुले पछिल्लो दुई महिनामा मात्रै ग्रीलजन्य फलामको मूल्य प्रतिकिलो ६० प्रतिशतभन्दा धेरैले बढेको बताएका छन् ।
नेपालमा ग्रील व्यवसायले मात्रै वार्षिक ५० अर्ब बढीको ग्रीलजन्य सामग्रीहरुको उत्पादन गर्दै आएका छन् ।







