गृहपृष्ठ खबर प्रधानमन्त्री कप : लुम्बिनीको लगातार दोस्रो जित

प्रधानमन्त्री कप : लुम्बिनीको लगातार दोस्रो जित

दाङ : दाङको लमहीमा भइरहेको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत महिला प्रतिस्पर्धामा लुम्बिनी प्रदेश लगातार दोस्रो खेलमा विजयी भएको छ। दोस्रो जित हासिल गर्ने क्रममा लुम्बिनीले कर्णाली प्रदेशलाई ९ विकेटले हरायो।

कर्णालीले दिएको ३५ रनको झिनो लक्ष्यलाई लुम्बिनीले ३।१ ओभरमै मात्र १ विकेटको क्षतिमा पार गर्‍यो। लुम्बिनीका लागि ब्याटिङमा कप्तान नेरी थापाले ९ रन, सरस्वती घर्ती मगरले ३ रन र गिता घोसाइले ४ रन बनाए।

खराब मौसमका कारण १३ ओभरमा छोट्याईएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले ६ विकेट गुमाउँदै ३४ रन बनायो। कर्णालीका लागि दीक्षा पुरीले सर्वाधिक ८ रनको जोडिन्। मात्र ४ बलको सामना गरेकी उनले २ चौकासहित उक्त रन बनाएकी थिइन्। अन्शु शाक्य ७ रनमा अविजित रहिन् ।

बलिङतर्फ लुम्बिनीका लागि सुस्मिता भुषालले २ तथा सरिता जिसी र गिता घोसाईले पनि १(१ विकेट लिएका थिए ।

जितसँगै समूह ए मा रहेको लुम्बिनी अंकतालिकामा ४ अंक जोडेको छ। यसअघि लुम्बिनीले प्रदेश २ लाई ९ विकेटले पराजित गरेको थियो। कर्णालीको यो दोस्रो हार हो।

कर्णाली पहिलो खेलमा विभागीय टोली एपीएफसँग २ सय ४ रनले पराजित भएको थियो।

 

सम्बन्धित् समाचार