
कपिलवस्तु : नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले संसद् पुनर्स्थापना अहिले राजनीतिक संकटको उत्तम समाधान भए पनि चुनावका लागि पनि कांग्रेस तयार हुनुपर्ने बताएका छन्। राष्ट्रिय एकता तथा मेलमिलापको दिवसका अवसरमा कपिलवस्तु कांग्रेसले बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री डा. कोइरालाले यस्तो धारणा राखेका हुन्।
कोइरालाले यतिबेला नेकपाभित्रको आन्तरिक झगडाको सिकार सिंगो संसद र मुलुक हुन पुगेको बताउँदै भने, संसद् विघटन गर्ने ओलीको कदम संविधानको भावना र लोकतन्त्रको मर्म विपरीत छ। यसले राजनीतिक अस्थिरता निम्त्याउने खतरा छ। त्यसैले अदालतले संसद् पुनर्स्थापना गरिदियो भने राजनीतिक स्वभाविक लिकमा अघि बढ्छ । तर संसद् पुनर्स्थापना भएन भने पनि कांग्रेस चुनावका लागि तयार हुनुपर्छ। चुनावबाट कांग्रेस भाग्दैन र भाग्नुहुँदैन।
उनले यसबारेमा कांग्रेसभित्र विवाद नरहेको र विवाद गर्न पनि नहुने बताए। उनले भने, ‘संविधान र मुलुक नै संकटमा परेका बेला हामी आपसमा विवाद गर्नु हुँदैन। बहस हुनु स्वभाविक हो। यो संकटबाट मुलुकलाई पार लगाउन कांग्रेस एकजुट भएर जिम्मेबार भएर अघि बढ्नुपर्छ।’ ओली सरकारले घोषणा गरे अनुसार ६ महिना भित्र निर्वाचन कुनै हालतमा हुन नसक्ने दाबी गरे।
उनले बीपी कोइरालाले अघि सारेको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै भने, अहिलेको राजनीतिक संकटलाई पनि मेलमिलापबाटै पार लगाउन सकिन्छ। त्यसको अगुवाइ अब कांग्रेसले गर्छ।ुकोइरालाले केपी ओली सरकारले संसद विघटन गरी मुलुकलाई अनिर्णयको बन्दी बनाउन खोजेको बताए।
कार्यक्रममा नेताहरु डा.मिनेन्द्र रिजाल, गुरु राजघिमिरे, अतहर कमाल, दिपक गिरी, दिपकुमार उपाध्याय, अभिषेक प्रताप शाह, सुधाकर पाण्डेय, राजेश आचार्य, राजेश सिंह ज्ञवाली लगायतले विपीको मिलमिलापको नीति अनुरुप नेपाली कांग्रेसभित्रको मेलमिलापलाई बलियो बनाउँदै प्रजातन्त्रवादी शक्तिहरुसँग मिलेर प्रतिगमनका विरुद्ध अघि बढ्ने बताए।








