राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बसेको २९९ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धा सुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेकी छिन् । सो दिवसका दिन सरकारले सार्वजनिक बिदा भने दिएका छैन । विभिन्न पक्षले सार्वजनिक बिदाको माग गर्दै आएपनि सरकारले बिदा भने नदिएको हो ।
‘नेपाल विश्व मानचित्रमा सदैव एक स्वाधीन र सार्वभौम राष्ट्रको रूपमा रहिआएको छ । विसं १७७९ पौष २७ गते जन्मिनुभएका तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको जग बसालेको तथ्य हामी सबैमा विदितै छ । विविध धर्म, संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सबल राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधार भूमि नेपाल एकीकरणले तयार गरेको थियो । बहुलताबीच सद्भावपूर्ण एकता हाम्रो राष्ट्रिय सामर्थ्य हो । यस सिर्जनात्मक शक्तिको सदुपयोग गर्दै अघि बढ्न सके मुलुकले विकासमा फड्को मार्ने निश्चिषत छ ’, राष्ट्रपतिको सन्देशमा भनिएको छ ।
पृथ्वीनारायण शाहले जनताको साथ र सहयोग लिँदै मुलुकभित्र उपलब्ध स्रोत र साधनको उपयोग गरी आपसी कलहमा फसेका स–साना राज्यलाई एकीकरण गर्न सफलता हासिल गरेको स्मरण गर्दै राष्ट्रपतिले नागरिकको इच्छा र चाहनाबाट नै मुलुकको शासन सञ्चालन गर्नुपर्छ भन्ने मान्यतालाई उनले अनुसरण गरेको उल्लेख गरेकी छिन् ।
शाहको उपदेशले राष्ट्रिय आत्मनिर्भता हासिल गर्नका लागि आवश्यक सीप र क्षमता विकास गर्नुपर्ने खाँचोलाई दर्शाएको पनि राष्ट्रपतिले भनेकी छिन् ।
‘हाम्रा पुर्खाको त्याग, बलिदान र समर्पणको जगमा निर्माण भएको राष्ट्रलाई समुन्नत बनाउने गहन दायित्व आज हाम्रो काँधमा आएको छ । आजको दिनले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, स्थिरता र समृद्धिका लागि सम्पूर्ण नेपालीलाई एकै सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास लिएको छु ’, राष्ट्रपतिले भनेकी छिन् ।
यस्तै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापश्चात् नेपाल सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय संकल्प पूरा गरी आत्मनिर्भर र समाजवादउन्मुख सुदृढ अर्थतन्त्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि उनले गरेकी छिन् ।








