
कपिलवस्तु : दाङको घोराहीबाट हराएको मोटरसाइकल कपिलवस्तुमा फेला परेको छ । दाङ घोराही उप महानगरपालिका १२ रमनाका नरेश बुढाको गत भदौँ २४ गते हराएको होण्डा साइन मोटरसाइकल असोज ११ गते कपिलवस्तुको जंगलमा फेला परेको थियो । वडा प्रहरी कार्यालय चन्द्रौटाले उक्त मोटरसाइकल हराएको झण्डै ६ महिनापछी सावधरी धनीलाई बुझाएको छ ।
वडा प्रहरी कार्यालय चन्द्रौटाले जंगलमा लुकाइ राखेको रा ५ प ५३९० नम्बरको मोटरसाइकल कपिलवस्तुको शिवराज नगरपालिका १ बनकसवासा जंगलमा बेवारिसे अवस्थामा फेला पारी कार्यालयमा राखेको थियो । वडा प्रहरी कार्यालय चन्द्रौटाले विशेष अनुसन्धानका क्रममा यातयात व्यवस्था कार्यालय राप्तीसंग समन्वय गरी मोटरसाइकल धनीलाई पहिचान गरी आज विहान बुझाईएको वडा प्ररी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले जानकारी दिनुभयो ।
मोटरसाइकल कस्ले चोरेको र कस्को हो भन्ने पत्ता लगाउन केही महिना लागेको बताउदै बुझाउन ढिलाई भएको प्रहरीले जनाएको छ ।
उक्त मोटरसाइकल बनकसवास जङगलमा बेवारिसे अवस्थामा फेला पारी यस कार्यालयमा ल्याई राखिएकोमा अनुसन्धानको क्रममा उक्त मोटरसाइकल नरेश बुढा मगरको भन्ने खुली आएकोले मोटरसाइकल बुझाएको प्रहरी निरिक्षक खरेलले बताउनु भयो ।
मोटरसाइकल पाएपछी नरेश बुढा मगर खुसी भएका थिए । उनले नेपाल प्रहरीलाई धन्याबाद समेत दिए । नरेश भन्छन मोटरसाइकल भेटिन्छ भन्ने कल्पना समेत गरेको थिएन । चोरी गर्ने गिरोहको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ । केही दिन पहिले पनि प्रहरीले चोरी भएका मोटरसाइकल सवारी धनीलाई बुझाएको थियो ।








