
सन्धिखर्क : सरकारको असंवैधानिक कदमको विरोध गर्दै अर्घाखाँचीका ६ वटै स्थानीय तहमा नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ। सरकारले लोकतनत्र माथि नै प्रहार गरेर विघटन गरेको प्रतिनिधि सभाको पुनर्स्थापनाको माग गर्दै कांग्रेसले अर्घाखाँचीका ६ वटै स्थानीय तहको मुकाममा सरकारविरुद्ध प्रदर्शन गरेको हो।
सन्धिखर्क नगरपालिकाको सन्धिखर्क, शितगंगा नगरपालिकाको ठाडा, भुमिकास्थान नगरपालिकाको ठाडा, पाणिनि गाउँपाकिलाको दुर्गाफाट, मालारानी गाउँपालिकाको खनदह र छत्रदेव गाउँपालिकाको राशिपमा सरकारविरुद्ध नाराबाजी सहित विरोध प्रदर्शन गरेको थिए। स्थानीयतहमा भएका कार्यक्रममा नेकपा परित्याग गरी शितगंगा नगरपालिकाबाट ९७ जना, मालारानी गाउँपालिकाबाट ७७ जना र भुमिकास्थान नगरपालिकाबाट २० जना गरी १ सय ९४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
विरोध सभामा बोल्ने वक्ताहरुले लामो संघर्षपछि प्राप्त भएको लोकतन्त्र नै समाप्त पार्ने खेलमा ओली सरकार लागेका कारण लोकतन्त्र बचाउन कांग्रेसले जस्तोसुकै मुल्य चुकाउन पनि पछि नपर्ने बताएका छन्। सन्धिखर्कमा भएको कार्यक्रमलाई वूर्व जिल्ला पाटी सभापति तथा जिल्ला समन्वय प्रमुख पिताम्बर शर्मा, जिल्ला सचिव छविलाल पौडेल, शितगंगामा जिल्ला सभापति विष्णुप्रसाद खनाल ९मुस्कान०, मालारानीमा नेविसंघ महामन्त्री बलदेव तिमिल्सिना, लुम्विनी प्रदेश सांसद तथा सचेतक निर्मला क्षेत्री लगायतले सम्बोधन गरेका थिए।
पाणिनिमा जिल्ला कोषाध्यक्ष कृष्णबहादुर ज्ञवाली, महासमिति सदस्य यादव घिमिरे, क्षेत्रीय सभापति तथा पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतम, छत्रदेवमा भएको कार्यक्रममा जिल्ला उपसभापति शान्ता भण्डारी, महाधिवेशन प्रतिनिधि तथा जिल्ला सदस्य कृष्णप्रसाद खनाल र भुमिकास्थान नगरपालिकामा भएको कार्यक्रममा जिल्ला सचिव विष्णुप्रसाद भुसाल लगायतले सम्बोधन गरेका थिए।








