गृहपृष्ठ खबर वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई निरन्तरता दिन कांग्रेसको माग

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई निरन्तरता दिन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम कार्यान्वयन गर्ने क्रममा देखा पर्न जाने सुशासन र पारदर्शिताका समस्यालाई व्यवस्थापन गर्र्दै कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेको छ ।

करीब आठ महिनादेखि सालका काठ, दाउराको कटान, मुछान, बिक्री वितरण र ओसारपसारमा लगाइएको रोकावट अझै नखुल्दा लाखौँ घनफिट साल काठ अलपत्र परेको अवस्थामा कांग्रेसले सो माग गरेको हो । नेपालको वन स्रोतको दिगो व्यवस्थापन गर्न तथा वन्य स्रोतबाट आय र रोजगारी सिर्जना गरी समृद्धिमा टेवा पु¥याउन एवं वन पैदावार आपूर्तिमा आत्मनिर्भरता बनाउन उक्त कार्यक्रमको निरन्तरता अति आवश्यक रहेको कांग्रेसको वन वातावरण तथा विपद् व्यवस्थापन केन्द्रीय विभागले जनाएको छ ।

वैज्ञानिक वन व्यवस्थापनका नाममा अनियमित तरिकाले काठ कटान भएको समाचार सार्वजनिक भएपछि नेपाल सरकारले गत जेठ १५ गते मन्त्रिपरिषद्को निर्णयमार्फत रुख कटान सङ्कलन ढुवानी र ओसारपसारमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । आम गुनासोपछि सरकारले जेठ २८ गते सालबाहेकका अन्य प्रजाति काठको सङ्कलन ढुवानी खुलाउने निर्णय गरे पनि सालको काठमाथि प्रतिबन्ध यथावत छ ।

विभाग प्रमुख अम्बिका बस्नेतले कांग्रेस नेतृत्वको तत्कालीन सरकारले समृद्धिका लागि वन भन्ने उद्देश्यका साथ वन नीति २०७१ जारी गरी वनमा आधारित उद्यमबाट देशमा आय र रोजगारी सिर्जना गरी राजस्व वृद्धि गर्ने र निर्यात घटाउने हेतुले सो कार्यक्रम लागू गरेको बताएकी छिन् ।

वनको वैज्ञानिक व्यवस्थापन गर्न आवधिक १० वर्षे र दीर्घकालीन ८० वर्षे योजनासहित विसं २०७१ बाट प्रारम्भ गरिएको कार्यक्रमले वन्य स्रोतको उत्पादकत्व र उत्पादन वृद्धि गरी वनको दिगो व्यवस्थापनलाई सुनिश्चित गर्नुको साथै जैविक विविधता र अन्य वातावरणीय सेवालाई पनि टेवा पु¥याउँदै आएको छ ।

सम्बन्धित् समाचार