काठमाडौं । प्रतिनिधि सभा विघटनसँगै मध्यावधि निर्वाचनको घोषणा गरिएको छ । घोषित मितिअनुसार आउँदो वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन हुनेछ । यद्यपि प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटमाथिको सुनुवाइ सर्वाेच्च अदालतको संवैधानिक इजलासमा भइरहेको छ । यसर्थ निर्वाचनको भविष्य अदालतको फैसलाले निर्भर गर्नेछ ।
तर, अन्यौलताकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव हुने बताइरहेका छन् । प्रतिनिधि सभा पुनर्स्थापित नभएमा मुलुक चुनाव जाने छ भने संसद पुनर्स्थापित भए पनि दुई वर्षपछि निर्वाचन हुने छ । प्रतिनिधि सभा विघटन भएसँगै सत्तारुढ नेकपा ओली र प्रचण्ड नेपाल समूहमा विभाजित भएको छ । केही दिनयता प्रधानमन्त्री ओलीले अबको निर्वाचनमा प्रचण्ड–नेपाल समूहले १० सिट पनि नजित्ने दाबी गरिरहेका छन् । आगामी निर्वाचनमा कसले बढी मत ल्याउला वा बहुमत पाउला भन्ने भविष्यमा हुने निर्वाचनको परिणामले बताउने छ ।
तर, यसअघि २०७४ मंसिरमा भएको आम निर्वाचनको परिणाम कस्तो थियो भन्ने कौतुहलता पनि देखिन थालेको छ । यसैलाई मध्यनजर गर्दै २०७४ मंसिरमा भएको आमनिर्वाचनको परिणाम प्रस्तुत गर्न खोजिएको छ । नेपालमा दुई सदनात्मक व्यवस्थामा छ, राष्ट्रिय सभा र प्रतिनिधि सभा । राष्ट्रिय सभा स्थायी सदन हो भने प्रतिनिधि सभा अद्यावधिक हो । गत २०७४ मंसिर १० र २१ गते दुई चरणमा २७५ सिटका लागि प्रतिनिधि सभाको निर्वाचन भएको थियो ।
निर्वाचन आयोग नेपालका अनुसार यस निर्वाचनमा मतदान गर्न योग्य मतदाताको संख्या १ करोड ५४ लाख २७ हजार ७ सय ३१ रहेकोमा ६८ दशमलव ६३ प्रतिशत मतदाताले मात्रै मतदानमा भाग लिए । मतदानमा भाग लिने मतदाताको संख्या एक करोड पाँच लाख ८७ हजार पाँच सय २१ रहेको थियो ।
२०७४ सालको चुनाव कसले कति मत पाए ?
२०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा पाएको मतअनुसार सबैभन्दा बढी नेपाली कांग्रेसको देखिन्छ । तर, निर्वाचित सिटको आधारमा हेर्दा तत्कालीन नेकपा एमाले पहिलो दल बनेको हो ।
नेपाली कांग्रेसले प्रत्यक्षमा सबैभन्दा बढी ३५ दशमलव ७५ प्रतिशत मत ३५ लाख ९० हजार सात सय ९३ पाएको थियो । तर, उसले २३ सिटमा निर्वाचित हुँदा दोस्रो मत पाएको तत्कालीन एमालेले ८० सिटमा विजयी भएको थियो । एमालेले कांग्रेसको भन्दा कम ३० दशमलव ६८ प्रतिशत मत ल्याए पनि ८० सिटमा विजयी भएर पहिलो दल बनेको थियो । उसले प्रत्यक्षमा ३० लाख ८२ हजार २ सय ७७ मत पाएको थियो ।
प्रत्यक्षमा भन्दा समानुपातिकमा एमालेले बढी मत पाएको थियो । कांग्रेसकोभन्दा करिब २८ हजार बढी मत ल्याएको एमालेले ३३ दशमलव २५ प्रतिशत समानुपातिकमा भोट पाएको थियो । जसअनुसार एमालेले समानुपातिकमा ३१ लाख ७३ हजार ४ सय ९४ मत ल्याएर ४१ सिट पाएको थियो । प्रत्यक्ष र समानुपातिक गरेर एमालेले कुल ६२ लाख ५५ हजार ७ सय ७१ मत सहित १२० सिट जितेको थियो ।
यस्तै कांग्रेसले समानुपातिकमा ३२ दशमलव ७८ प्रशिशत मत ल्याएर ४० सिट जितेको थियो । कांग्रेसले समानुपातिकमा ३१ लाख २८ हजार ३ सय ८९ र प्रत्यक्षको ३५ लाख ९० हजार सात सय ९३ मतसहित कूल ६७ लाख १९ हजार एक सय ८२ पाएर ६३ सिट जित्न सफल भएको थियो । कांग्रेसको कूल मत एमालेको भन्दा चार लाख ६३ हजारभन्दा बढी मत हो । तर, प्रत्यक्षमा बढी सिट जितेकाले एमाले पहिलो दलको रुपमा सदन छिरेको थियो ।
यस्तै तत्कालीन नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा १५ लाख १० हजार सात सय ६० (१५.०३ प्रतिशत) मत ल्याएर ३६ सिट जितेको थियो । साथै उसले समानुपातिकमा १३ लाख तीन हजार सात सय ३१ (१३.६६ प्रतिशत) मत ल्याएर १७ सिट जितेको थियो । माओवादी केन्द्रले कूल २८ लाख १४ हजार चार सय ९१ (१३.६६ प्रतिशत)मत ल्याएर ५३ सिट पाएको थियो ।
यसपछि राष्ट्रिय जनता पार्टीले प्रत्यक्षमा चार लाख ५८ हजार चार सय ९ (४.५६ प्रतिशत) मत ल्याएर ११ सिट र समानुपातिकमा ४ लाख ७२ हजार २५४ मत पाएर ६ सिट जितेको थियो । उसको कूल निर्वाचित सिट संख्या १७ थियो । यस्तै संघीय समाजवादीले प्रत्यक्षमा पाँच लाख २७ हजार ९२४ (५.२६प्रतिशत) मतसहित १० सिट र समानुपातिकमा चार लाख ७० हजार २०१ (४.९३ प्रतिशत) मतसहित ६ सिट जितेको थियो । उसको कूल सिट १७ नै रहेको थियो । विवेकशील साझाले प्रत्यक्षमा ९३ हजार २३३ र समानुपातिकमा २ लाख १२ हजार ३३६ मत पाए पनि दुवैमा सिट जित्न सकेन ।
प्रत्यक्षमा एक सिट जितेको राप्रपाले प्रत्यक्षमा एक लाख १८ हजार ३१८ र समानुपातिकमा एक लाख ९६ हजार ७८२ मत पाएको थियो । एक सिट पनि नजितेको राप्रपा प्रजातान्त्रिकले प्रत्यक्षमा १ लाख २३ हजार ७९७ र समानुपातिकमा ८८ हजार ३७७ मत पाएको थियो । प्रत्यक्षमा एक सिट जितेको नयाँ शक्ति पार्टीले प्रत्यक्षमा ८४ हजार ३७ र समानुपातिकमा ८१ हजार ८३७ मत पाएको थियो । प्रत्यक्षमा एक सिट जितेको राष्ट्रिय जनमोर्चाले प्रत्यक्षमा ७० हजार १४ र समानुपातिकमा ६२ हजार १३३ मत पाएको थियो ।
प्रत्यक्षमा एक सिट जितेको नेपाल मजदुर किसान पार्टीले ५२ हजार ६६८ र समानुपातिकमा ५६ हजार १४१ मत पाएको थियो । सोही निर्वाचनमा एक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए ।







