नेपालगन्ज : नेपालगन्जमा तीन वर्ष यताकै सर्वाधिक जाडो भएको छ ।
जल तथा मौसम विज्ञान विभागको नेपालगन्जको राँझास्थित हावापानी फिल्ड कार्यालयका प्रमुख पलबहादुर विकका अनुसार तीन वर्ष यताकै सबैभन्दा कम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको छ । सन् २०१९ को ३१ डिसेम्बरमा ३.५ डिग्री सेल्सियस, २०२० को ३१ डिसेम्बरमा ४.१ डिग्री सेल्सियस रहेको थियो । यो वर्ष १ जनवरी (१७ पुस)मा न्यूनतम् तापक्रम ३ डिग्री सेल्सियस र १६ माघमा ३.३ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । जुन अघिल्ला दुई वर्षभन्दा कम हो । आइतबार भने नेपालको न्यूनतम् तापक्रम ५ डिग्री सेल्सियस पुगेको छ । बिहानैदेखि नेपालगन्जमा घाम लागेको छैन ।
त्यसो त, यो वर्ष ८ दिन घाम लागेन । हावापानी कार्यालयका अनुसार जनवरी महिनामा ७ दिन (१, ११, १३, १६, २०, २१ र २५ तारिख) र आइतबार दिनभर घाम लागेन । बाक्लो हुस्सु कुहिरोका कारण यो वर्ष विमानसेवा प्रभावित भएका छन् । आइतबार पनि बिहानका सबै उडान रद्द गरिएका थिए ।
विद्यालय बन्द
नेपालगन्ज उपमहानगरपालिकाले अत्यधिक जाडो बढेको भन्दै विद्यालयमा कम्तीमा ३ दिन जाडो विदा दिन विद्यालयहरुलाई परिपत्र गरेको छ ।
उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाले आइतबार विद्यालयलाई परिपत्र मार्फत १९ माघदेखि २१ माघसम्म ३ दिन विद्यालय विदा गर्न र मौसम प्रतिकूल रहेमा २३ माघसम्म विद्यालय विदा मिलाउन विद्यालयलाई आग्रह गरे छन् । उपमहानगरपालिकाले सामुदायिक, संस्थागत र धार्मिक सबै विद्यालयमा जाडो विदा दिन भनेको छ ।