गृहपृष्ठ खबर रुपन्देहीमा निर्वाचनको चहलपहल : ६ सय १० मतदान केन्द्र, १२ नयाँ थपिए

रुपन्देहीमा निर्वाचनको चहलपहल : ६ सय १० मतदान केन्द्र, १२ नयाँ थपिए

प्रकाशित मिति:

बुटवल : साविकको निर्वाचनमा रुपन्देहीमा २ सय ८ मतदान स्थल तथा ५ सय ९८ मतदान केन्द्र रहेका थिए। अहिले मतदान केन्द्र थप भएर ६ सय १० पुर्‍याइएको जिल्ला निर्वाचन अधिकारी अयोध्या भण्डारीले जानकारी दिएका छन्।

सरकारले घोषणा गरेको वैशाख १७ र २७ गते हुने निर्वाचनको लागि रुपन्देहीमा १२ वटा मतदान केन्द्र थपिने भएको उनले जानकारी दिए। मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन समिति रुपन्देहीको बैठकले १२ वटा मतदान केन्द्र थप गर्ने निर्णय गरेको हो।

मतदान स्थलको संख्या भने २ सय ८ नै रहेको छ। तर, केही मतदान स्थल भने हेरफेर गरिएको उनले जानकारी दिए। जस अनुसार बुटवल उपमहानगरपालिकाको वडा नम्बर ६ र ९, मायादेवी गाउँपालिका-५, कोटयीमाइ गाउँपालिका-६ र गैडहवा गाउँपालिका-३ मा मतदान स्थल परिवर्तन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

रुपन्देहीमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा पुस २९ गते बसेको मतदान स्थल तथा मतदानकेन्द्र पुनरावलोकन समितिको बैठकमा पालिका प्रमुखहरुलाई मतदान केन्द्रको हेरफेरको सम्बन्धमा राय सुझाब दिन भनिएको थियो। सुझाबहरुलाई समेटेर मतदान स्थल र केन्द्रहरु तोकिएको जिल्ला निर्वाचन अधिकारी भण्डारीले बताए।

मतदाता नामावली अद्यावधिक जारी

मतदाता नामावली अद्यावधिकको काम पनि शुरु भइसकेको छ। जिल्लाका सबै पालिकामा १५ गते मतदाता नामावली प्रकाशन भएको छ।

१६ गतेबाट २४ ९आज० गतेसम्म अद्यावधिकको काम भइरहेको छ। यसबीचमा नामावलीमा भएको त्रुटी सच्याउने, कसैले झुटा विवरण दिएको भए उजुरी लिने, त्यस उपर छानबिन गर्ने, मृत्यु भएको वा नागरिकता त्यागेकाको नाम सूचीबाट हटाउने लगायतका कामहरु भइरहेको कार्यालयले जनाएको छ।

माघ २४ गतेसम्म अद्यावधिक गरेर निर्वाचन आयोगमा पठाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। त्यसपछि निर्वाचन आयोगले अन्तिम नामावली सार्वजनिक गर्ने छ।

सम्बन्धित् समाचार