प्रचण्ड- नेपाल नेतृत्वको नेकपाकी नेता रामकुमारी झाँक्री रिहा भएकी छन्।
महानगरीय अपराध महाशाखाले उनलाई सोधपुछ गरी छाडेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए।
श्रीमान पशुपति पुरीको रोहवरमा उनलाई छाडिएको प्रहरीले जनाएको छ।
‘संवैधानिक राष्ट्रपतिप्रतिको सम्मान हिजो, आज र भोलि उत्तिकै रहनेछ। यो चाहिँ नेपालको प्रचलित कानुनको पालना गरेर अभिव्यक्ति स्वतन्त्रताको हत, राजनीतिक स्वतन्त्रताको हक प्रयोग गरेर मात्रै बोलेकी हुँ। अरू केही गरेको होइन,’झाँक्रीको बयान उदृत गर्दै एसएसपी थापाले भने।
‘बयानपछि हामीले उहाँलाई राखिराख्ने कुरा भएन। मुद्दा चलाउनु पर्ने आवश्यकता रहेन त्यही भएर हामीले छोड्यौं,’उनले भने।
प्रहरीले राज्यविरूद्धको कसूर गरेको आरोपमा झाँक्रीलाई बिहीबार मध्यान्ह पक्राउ गरेको थियो। झाँक्रीले गोरखाको एउटा भाषणमा राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको आलोचना गरेकी थिइन्।








