गृहपृष्ठ खबर प्रधानमन्त्री बुटवल आउने भएपछि प्रदेशस्तरीय सुरक्षा गोष्ठी

प्रधानमन्त्री बुटवल आउने भएपछि प्रदेशस्तरीय सुरक्षा गोष्ठी

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डिआइजी रविन्द्रबहादुर धानुकले बदलिँदो राजनितीक परिस्थितिसँगै प्रदेशको शान्ति सुरक्षाका लागि उच्च सुरक्षा सतर्कता अप्नाइएको बताएका छन् ।  लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको आयोजनामा बुधबार प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

डिआइजी धानुकले बदलिँदो राजनितिक परिवेशसँगै प्रदेशको शान्ति सुरक्षा मजबुत पारिएको बताए । बदलिँदो राजनीतिक अवस्थामा समसामयिक शान्ति सुरक्षाको बारेमा एक अर्कासँग आपसमा समन्वय गर्ने गरि छलफल गर्न सो प्रदेशस्तरिय सुरक्षा गोष्ठि गरिएको धानुकले जानकारी दिए । प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा लुम्बिनी प्रदेशका जनपथ, सशस्त्र, सेना र रास्ट्रिय प्रहरी अनुसन्धानका उच्च सुरक्षा अधिकारीको उपस्थिति रहेको थियो । गोष्ठीमा सहभागी प्रदेशका सबै सुरक्षा अंगका प्रमुखहरुले  प्रदेशको पछिल्लो शान्ति सुरक्षाको अवस्था बारेमा रिपोर्टिङ गरेका थिए ।

प्रधानमन्त्री केपी शर्माओली यहि फागुन १ गते बुटवल आउने कार्यक्रम तय भएपछि प्रदेशका सुरक्षा निकायहरुले सुरक्षा चासो बढाउँदै सतर्कता बढाइएको धानुकले बताए । उनले सुरक्षा निकायबीच आपसमा समन्वय गरेर प्रदेशको शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न यो गोष्ठीले थप सहयोगी भूमिका खेलेको र समन्वयको वातावरण बन्दै जाने विश्वास समेत व्यक्त गरे ।

सुरक्षा गोष्ठिमा राजनितिक परिवेशसँगै शान्ति सुरक्षाका चुनौती, प्रतिबन्धित विप्लव समूहका गतिविधि, सीमामा हुने आपराधिक कृयाकलाप, चोरी निकासी नियन्त्रण, चुरे दोहन, अनावश्यक खोला दोहनदेखि गैरकानुनी काम बन्द गर्न सुरक्षा निकायहरुका बीचमा आपसी समन्वयसँगै सूचना आदानप्रदान गर्ने विषयमा प्रभावकारी छलफल भएको थियो ।

डिआइजी धानुकले सुरक्षा निकाय बीचको आपसमा सम्बन्ध सुधारसँगै सूचना आदानप्रदान गर्ने विषयमा कुराकानी भएको बताए ।  आफू प्रदेश प्रहरीको नेतृत्वमा आएपछि शान्ति सुरक्षाका धेरै कामहरु भएको र सुरक्षामा सुधार आएसँगै बलियो सुरक्षाको जग बसेको उल्लेख गरे ।

उक्त कार्यक्रममा मध्यपश्चिम पृतना हेडक्वाटर बुटवलका पृतनापति उपरथी सञ्जय थापा, डिआइजी धानुक, बिन्दबासनी वाहिनी कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान लुम्बिनी प्रदेशका अनुसन्धान निर्देशक सुनिलकुमार ढकाल लगायत नं. १९ र नं. २२ बाहिनीका बाहिनीपतिहरु समेतको उपस्थिती रहेको थियो ।

सम्बन्धित् समाचार