
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक डाकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले राखेको जिल्ला सभापतिहरूको भेला स्थगित भएको छ।
सभापति देउवाको कार्यकाल सकिन लागेको, महाधिवेशन मिति फागुन ७ गतेदेखि भने पनि उक्त समयमा महाधिवेशन नहुने निश्चित भइसकेको अवस्थामा आवश्यक रणनीति लिन र सभापति देउवालाई दवाव दिन पौडेल पक्षले जिल्ला सभापतिहरूको भेला बोलाएको थियो।
बुधबारका लागि बोलाइएको भेला स्थगित भएको छ। सभापति देउवाले बुधबारकै लागि केन्द्रीय समिति बैठक डाकेपछि जिल्ला सभापतिहरूको भेला स्थगित गरिएको हो।
पौडेल पक्ष निकट काभ्रे जिल्ला कांग्रेस सभापति मधु आचार्यले भोलिका लागि तय भएको जिल्ला सभापतिहरूको बैठक स्थगित गरिएको जानकारी दिए।
‘भोलिका लागि बोलाइएको जिल्ला सभापतिहरूको बैठक अहिलेका लागि रोक्ने निर्णय भएको छ,’ उनले भने, ‘भोलि नै केन्द्रीय समिति बैठक बस्दैछ। आवश्यक पर्यो भने पछि पुनस् जिल्ला सभापतिहरूको भेला बस्छ।’
सभापति देउवाले अब कार्यकाल थप गर्न संविधानको साहरा लिनुपर्छ। कांग्रेसले चार वर्षमा महाधिवेशन गर्नुपर्ने भए पनि कोरोनाका कारण महाधिवेशन अनिश्चित बनेको छ। देउवाको कार्यकाल फागुन १९ मा सकिँदैछ।
संविधानअनुसार अब देउवाले छ महिना कार्यकाल थप गर्न पाउँछन्। केन्द्रीय समिति बैठकबाट कार्यकाल थप गर्ने र १४ औं महाधिवेशनको मिति तय गर्ने देउवाको तयारी छ।







