गृहपृष्ठ अर्थ/वाणिज्य सार्वजनिक यातायातको भाडा ४० प्रतिशतसम्म बढाउन माग

सार्वजनिक यातायातको भाडा ४० प्रतिशतसम्म बढाउन माग

प्रकाशित मिति:

काठमाडौं : यातायात व्यवसायीले सार्वजनिक यातायातको भाडा बढाउन माग गरेका छन् । इन्धन र सवारीजन्य पार्टपूर्जामा भएको मूल्यवृद्धिलाई कारण देखाएर व्यवसायीले ४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने माग गरेका हुन् ।

सरकारले एक सातामै दुई पटक पेट्रोलियम पदार्थको मूल्य बढाएपछि यात्रुवाहक तथा मालवाहक सवारीधनीहरूले अहिले भाडादरले व्यवसायमा टिक्न नसकिने बताएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गत माघ २९ गते नै विज्ञप्ति जारी गरेर पटक–पटक तेलको मूल्यमा भएको वृद्धि एकमुष्ट रुपमा फिर्ता लिन माग गरेको थियो ।

महासंघले फागुन ८ गतेसम्म मूल्यवृद्धि फिर्ता नलिए आवश्यक निर्णय लिने गरी अल्टिमेटम समेत दिएको छ । तर, सरकारले यसै हप्ता फेरि तेलको मूल्य बढाएको छ ।

एक हप्तामै लिटरमा ४ रुपैयाँ मूल्यवृद्धि भएपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघले पनि यातायात व्यवस्था विभागसँग भाडा बढाउन माग गरेको छ ।

सरकारले सार्वजनिक सवारीको वैज्ञानिक भाडा समायोजन गर्नुपर्ने व्यवसायीको माग छ । सरकारले २०६५ फागुन २० गतेबाट वैज्ञानिक भाडादर समायोजन सम्बन्धी कार्यविधि जारी गरेको थियो ।

सम्बन्धित् समाचार