कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ खोपको १० लाख मात्रा आइतबार काठमाडौं आइपुगेको छ । सरकारले गत बुधबार २० लाख मात्रा खोप खरिदका लागि भारतको सिरम इन्स्टिच्युट अफ इन्डियासँग सम्झौता गरेको थियो । सम्झौताअनुसार पहिलो खोप आइपुगेको हो ।
सरकारले भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाबाट किनेर आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्याइएको कोरोनाविरुद्धको खोप कोभिसिल्ड । २० लाख मात्रा खोप किनिएकामा पहिलो चरणमा १० लाख ल्याइएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार यो खोप फागुन २३ गते सुरु हुने देशव्यापी अभियानमा प्रयोग गरिनेछ । हाल टेकुस्थित कोल्ड रुममा राखिएको खोप आवश्यकताअनुसार प्रदेशमा पठाइनेछ । प्रदेशहरूबाट पालिकाका केन्द्रसम्म पुर्याइनेछ । अभियानअन्तर्गत ५५ वर्षमाथिका र प्राथमिकतामा राखिएका खास समूहका गरी करिब ४० लाखभन्दा बढीलाई खोप लगाइने मन्त्रालयले जनाएको छ । खास समूहमा विश्वविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक, औषधि पसल र प्रयोगशालामा कार्यरत कर्मचारी छन् ।
पहिलो चरणमा २२ लाख ५६ हजार मात्रा अक्सफोर्ड–अस्ट्रेजेनेकाको खोप आउनेछ । कोभाक्सबाट विभिन्न चरण गरी २० प्रतिशत जनसंख्याका लागि निःशुल्क खोप नेपालले पाउनेछ ।
यसअन्तर्गत खोप र सिरिन्ज निःशुल्क हुन्छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुर्याउने खर्चसमेत दाताले नै बेहोर्ने मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलले बताए । सरकारले कोभाक्सबाहेक सहुलियत मूल्यमा खोप खरिद गर्नसमेत निवेदन दिएको छ । यसअन्तर्गत कोभाक्सले निर्धारण गरेको खोपको विश्वव्यापी मूल्य भुक्तानी गरेर किन्न सकिन्छ ।
सरकारसँग हाल अनुदानको करिब ५ लाख, खरिद गरेको १० लाख र कोभाक्स सुविधाअन्तर्गतको २२ लाख ५६ हजार मात्रा गरी ४७ लाख ५६ हजार मात्रा खोप हुने भएकाले अभियान सुरु गरेको मन्त्रालयले जनाएको छ । चीनबाट अनुदानअन्तर्गत ५ लाख मात्रा खोपसमेत छिट्टै आइपुग्ने अनुमान छ । ‘यति खोप अभियानका लागि पर्याप्त हुनेछ,’ डा. गौतमले भने, ‘दोस्रो मात्रा खोप लगाउन न्यूनतम ८ देखि अधिकतम १२ साता लाग्नेछ ।’
सरकारले गत माघ १४ मा पहिलो चरणको खोप अभियान सुरु गरेकाले अब दोस्रो मात्रा लगाउन चैतको तेस्रो सातादेखि सुरु हुनेछ । सरकारले शनिबारसम्म १ सय ६५ खोप केन्द्रमार्फत ४ लाख २२ हजार ६४ जनालाई खोप लगाइसकेको छ । उनीहरूलाई कम्तीमा दुई महिनापछि दोस्रो मात्रा खोप दिन खासै अप्ठ्यारो नहुने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । \
‘खोप सकिन लागे द्रुत निर्णय गरेर किन्न सकिने भएकाले दोस्रो मात्रा लगाउन वा अभियान जारी राख्न खासै समस्या नहुने देखिएको छ,’ उनले भने । नयाँ चरणको खोप अभियान सुरु गर्दा मुलुकमा दर्ता गरिएको कोभिडविरुद्धको खोपसमेत उपयोग गर्न सकिने उनको भनाइ छ ।








