गृहपृष्ठ खबर दाङमा जीपले अटोलाई ठक्कर दियो, चालकको मृत्यु, पाँच घाइते

दाङमा जीपले अटोलाई ठक्कर दियो, चालकको मृत्यु, पाँच घाइते

तुलसीपुरको दूधेनामा सोमवार जीपले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । थप पाँच जना घाइते भएका छन् । दुर्घटनाका गम्भीर घाइते दाङको शान्तिनगर गाउँपालिका–१ पेदीखोला निवासी ३० वर्षीय अटो चालक रमेश विकको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ ।

गम्भीर घाइते विकलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर रेफर गरिएको थियो । उनको उपचारका क्रममा बेलुकी सात बजे तिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

दुर्घटनाका घाइते मध्य अटोमा सवार शान्तिनगर १ की ३० वर्षीया रुपा वली, उनकी २ वर्षीया छोरी पुष्पा वली र शान्तिनगर २ की ४१ वर्षीया शारदा केसीको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरु तीनै जनालाई थप उपचारको लागि कोहलपुर रेफर गरिएको पनि प्रहरीले जनाएको छ ।

त्यस्तै अटोमै सवार अन्य २ जना घाइतेको अवस्था सामान्य रहेको र उनीहरुको उपचार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको प्रहरीले बताइएको छ । दिउँसो तीन बजेतिर तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ ह ४३३६ नम्बरको अटो र पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ५०८ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिका ८ दूघेनामा एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
जीप चालक प्रहरी नियन्त्रणमा छन् । प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरेको छ ।

सम्बन्धित् समाचार