गृहपृष्ठ खबर शंकर पोखरेल भन्छन्- प्रचण्ड–माधवहरू सरकार बनाउन भिख माग्दै हिँडे

शंकर पोखरेल भन्छन्- प्रचण्ड–माधवहरू सरकार बनाउन भिख माग्दै हिँडे

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रचण्ड–माधवहरू गैरकम्युनिष्ट पार्टीको नेतृत्वको सरकारका लागि भिख माग्दै हिँडेको बताएका छन्। बुधबार नेकपा ओली निकट राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटी बैठकमा पोखरेलले प्रचण्ड–माधव पक्षको जितको परिणाम गैरकम्युनिष्ट पार्टीको नेतृत्वको सरकारका लागि भिख माग्दै हिँडेको बताए।

‘उहाँहरूले हामी एक्लैले केही गर्न सक्दैनौं राष्ट्रिय सहमति खोज्छौं भन्नुभएको छ। एकातिर कुरा गर्नुहुन्छ, प्रधानमन्त्रीले कम्युनिष्ट पार्टीको दुई तिहाई हुँदाहुँदै विघटन गरेर संकटमा पारे भन्ने कुरा गर्नुहुन्छ। उहाँहरूले जितेको जितको परिणाम के हो त भन्दा कम्युनिष्ट पार्टीको नेतृत्व होइन, गैरकम्युनिष्ट पार्टीको नेतृत्वमा सरकारका लागि भिख माग्न हिँड्दै हुनुहुन्छ,’ पोखरेलले भने।

नेता पोखरेलले कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारलाई काम गर्न नदिने र गैर कम्युनिष्टहरूको सरकार बनाउन खोज्ने स्थिति पैदा गरिएको भन्दै जनताबीच यसै विषयलाई लिएर जाने बताए।

जुन उद्देश्यका साथ प्रतिनिधि सभाको विघटन गरिएको थियो त्यो उद्देश्य पूरा भएको दाबी पनि गरे। प्रतिनिधि सभा विघटन नगरेको भए पार्टी नेतृत्व र पार्टी एकताविरुद्ध गरिएका षडयन्त्रको विरोध र भण्डाफोर गर्न नपाउने भन्दै उनले दुई महिनाको अवधिमा जनताले सत्य कुरा बुझ्ने मौका पाएका पनि दाबी गरे।

‘पार्टी नेतृत्वको रक्षाका लागि, आन्दोलनको रक्षाका लागि स्वाभाविक रुपमा प्रतिनिधि सभाको विघटन त्यति बेलाको लागि अपरिहार्य कदम थियो भन्ने कुरालाई हामी सबैले बुझ्न जरुरी छ। आज सर्वोच्चको फैसला के भयो भन्ने कुरालाई बिर्सनुस्। त्यतिबेला त्यो काम नगरेको भए पार्टी नेतृत्वविरुद्ध, आन्दोलनविरुद्ध, एकताकाविरुद्ध जुन प्रकारको षडयन्त्रपूर्ण क्रियाकलाप भएको थियो त्यसको विरोध र भण्डाफोर गर्ने अवसर हामीले पाउने नै थिएनौं,’ पोखरेलले बताए।

नेता पोखरेलले संसदमा मान्छे तान्ने खेल सुरु हुने र त्यतिबेला केपी ओलीको संसद विघटन कदम सही हो भन्ने दुनियाँलाई महसुस हुने पनि बताए। आगामी चुनावसम्ममा सबैको मनमा केपी ओलीको नेतृत्व स्थापित भइसक्ने पनि उनको दाबी थियो।

कार्यक्रममा नेकपा ओली समूहका केन्द्रीय कमिटी सदस्य शेरबहादुर तामाङले सर्वोच्च अदालतको निर्णयले दुई वर्ष संगठन गर्ने अवसर पाएको बताए। संगठन निर्माण गरेर जाने र आगामी चुनाव जितेरै छाड्ने दाबी पनि उनले गरे।

सर्वोच्च अदालतको फैसला स्वीकार गर्दै आफूहरूले संयमतापूर्वक राजनीतिक विचार राखिरहेको तामाङले बताए।

सम्बन्धित् समाचार