गृहपृष्ठ खबर बाणगंगामा तेस्रो नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बाणगंगामा तेस्रो नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

चार नम्बर जीतपुर : कपिलवस्तुको बाणगंगा नगरपालिकामा तेस्रो नगरस्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । नगरपालिकाका मेयर मंगल प्रसाद थारुले प्रतियोगिताको उद्घाटन गरेका हुन् । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ जनता मावि पिपराको खेलमैखदानमा सूरु भएको खेलमा विभिन्न खेलकुद सम्पन्न भएका छन् । जसमा ८ पदकका खेल भएका छन् । त्यसमध्ये दौड तर्फ हेमराज मावि ओदारीले ६ वटा, जनता मावि पिपराले एउटा र सुर्योदय मावि बरवाले एउटा स्वर्ण पदक प्राप्त गरेका छन् ।

त्यस्तै भलिवल तर्फ जनता माविले बाणगंगा मावि गजेहडालाई पराजित गरेको छ भने वाणगंगा मावि लौगाईले शुद्धोधन जनजिवन मावि जिनुवालाई हराएको छ । खेल उद्घाटन गर्दै नगर प्रमुख थारुले खेलले विद्यार्थीको शारिरीक, मानसिक तथा संवेगात्मक पक्षको विकास गर्ने बताए । कार्यक्रमका अध्यक्ष समेत रहेका थारुले नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकताका साथ अगाडि बढाईरहेको बताए ।

त्यस्तै उपप्रमुख चक्रपाणि अर्यालले नगरपालिकाको समग्र विकास भित्र खेलकुदले पनि समृद्ध नगरको आधार निर्माण गर्ने बताए । उनले राष्ट्रपति रनिङशिल्डले नगरभित्रका विभिन्न विद्यालयलाई राष्ट्रको संमृद्धिसंग पनि जोड्ने बताए । नगरस्तरिय खेलकुदमा विद्यार्थीले सक्रियता पुर्वक सहभागिता जनाएको निर्देशक नगरका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम भट्राईले बताए । १५ विधाका खेलहरु हुने प्रतियोगितामा नगरपालिकाका २४ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ । सो अवसरमा हिलबर्ट बोडिङ स्कुलका बिद्यार्थीले सास्कृतिक प्रस्तुती समेत राखेका थिए । साथै हिलबर्ट बोडिङ स्कुलबाटै पञ्चकन्याको पनि प्रस्तुती रहेको थियो । पछिल्लो समय सास्कृतिक क्षेत्रमा हिलबर्टका बिद्यार्थीको यस क्षेत्रमा निकै राम्रो प्रभाव र प्रस्तुती रहदै आएको छ ।

खेलको संयोजकमा जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख मिन प्रसाद पोख्रेल रहेका छन् भने सह निर्देशककको रुपमा शिक्षा शाखा अधिकृत खिम बहादुर जिसी रहेका छन् ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डांगी, सामुदायिक विद्यालयबाट कुलराज पौडेल, निजी बिद्यालयबाट सुन्दर पाण्डे, जिल्ला खेलकुद विकास समिति निवर्तमान अध्यक्ष छवि रेश्मी मगरले मन्तब्य राखेका थिए ।

निर्देशक भट्राईको स्वागत मन्तब्य तथा सह निर्देशक जिसिको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार