
काठमाडौं : सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको निर्णय फागुन २० गते सुनाउने भएको छ । नेकपा नाम जुधाएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले २० गते निर्णय सुनाउने भएको छ ।
कट्टेलले नेकपा नाममा दाबी गर्दै सर्वोच्चमा दायर गरेको रिटमाथि न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बिहीबार सुनुवाइ भएको हो । सुनुवाइ सकिएपछि २० गते निर्णय सुनाउने तय भएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।
सत्तारुढ नेकपाभित्र पार्टीको आधिकारिकता विषयमा विवाद चर्किएका बेला कट्टेलले २०७५ मंसिर २१ गते दायर गरेको रिटमाथि सुनुवाइ भएको हो । यसअघि यो रिटमाथि पेसी चढे पनि सर्दै आएको थियो ।
पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेकपामा आफूहरु आधिकारिक भएको दाबी गर्दै आएका छन्।
प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्षबाट कारबाही गरेको यो समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदनसमेत दिएको छ। यता ओलीले भने नक्कलीहरुले मात्र आधिकारिकता दाबी गर्ने भन्दै आफ्नो समूह नै आधिकारिक भएको बताउँदै आएका छन्।








