
चारनम्बर जीतपुर : चारनम्बर जीतपुर : कपिलवस्तुको बाणगंगा नगरपालिकामा जारी तेस्रो नगरस्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको दोस्रो दिनसम्मका खेलहरुमा हेमराज माविले १४ वटा स्वर्ण पदक हात पार्न सफल भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ जनता मावि पिपराको खेल मैदानमा सूरु भएको प्रतियोगितामा आज विभिन्न खेलकुद सम्पन्न भएका छन् । दोस्रो दिनका खेलहरुमा तीन हजार मिटर दौडतर्फ छात्रमा झण्डा माविका मनोज आचार्य र छात्रातर्फ हेमराज माविकी रिना थारुले स्वर्ण पदक जितेका छन् ।
त्यस्तै सटफुटमा छात्रतर्फ महेन्द्र माविका युवराज चौधरी र छात्रामा हतौसा माविकी रेनु कुमारीले स्वर्ण पदक हात पारेका छन् । लङजम्पमा छात्रतर्फ हिलवर्टका सुरज थारु र छात्रातर्फ सुर्योदय मावि बरवाकी निसा थारुले स्वर्ण पदक हात पारेका हुन् । हाईजम्पमा छात्रतर्फ बाणगंगा माविका निशान परियार र छात्रामा हेमराज माविकी खिमकुमारी थारुले स्वर्ण हासिल गरेकी छिन् । त्यस्तै ज्याब्लिन थ्रोको छात्रतर्फ हेमराज माविका श्रीबहादुर थारु र छात्रातर्फ हेमराजकै रेनु कुमारी थारुले स्वर्ण प्राप्त गरेका छन् । त्यस्तै त्रीपल जम्पमा हेमराज माविकै छात्रछात्रा शकर थारु र निसा थारुले स्वर्ण जितेका छन् ।
४ ईन्टु फोर हन्ड्रेड रिलेतर्फ हेमराजका छात्र गौरव परियार र जनता माविकी छात्रा आशिका थारुले स्वर्ण आफ्नो पक्षमा पार्न सफल भएका छन् । हालसम्म २२ स्वर्ण, २२ रजत र २२ कास्यका लागी प्रतिस्पर्धा भईसकेको खेल संयोजक जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख मिन प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।
१५ विधाका खेलहरु हुने प्रतियोगितामा नगरपालिकाका २४ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ । हालसम्म हेमराज माविले १४, जनता माविले २, सुर्योदयले १, कोपवाले १, हिलवर्टले १, बरवाले १, बाणगंगाले १ र झण्डाले १ स्वर्ण हात पारेका छन् ।








