
चारनम्बर जीतपुर : कपिलवस्तुको बाणगंगा नगरपालिकामा जारी तेस्रो नगरस्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको समापन भएको छ । प्रतियोगिताका खेलहरुमा हेमराज मावि हतौसाले सर्वाधिक स्वर्ण पदक हात पार्दै शिल्ड विजेता घोषित भएको छ । हेमराजले सर्वाधिक १७ ओटा स्वर्ण पदक हात पार्दै शिल्ड विजेता बन्न सफल भएको हो । ३ ओटा स्वर्ण पदक हात पार्दै बाणगंगा मावि गजेहडा दोस्रो हुन सफल भएको छ ।
त्यस्तै ३ ओटा नै स्वर्ण आफ्नो पक्षमा पार्दै सुर्योदय मावि बरवा तेस्रो भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ जनता मावि पिपराको खेल मैदानमा सूरु भएको प्रतियोगितामा जनता मावि पिपराले २, महेन्द्र मावि कोपवाले १, झण्डा मावि मधौलीले १, हिलवर्ट माविले १, शुद्धोधन जनजीवनले १ र सिद्धार्थ मावि बुङचीले १ ओटा स्वर्ण हात पारेका छन् । उत्कृष्ट मार्चपासको टफी भने हिलवर्ट मावि पिपराले हात पारेको खेल संयोजक जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख मिन प्रसाद पोख्रेलले जानकारी दिनुभयो । खेल समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थारुले खेलले विद्यार्थीको शारिरीक, मानसिक तथा संवेगात्मक पक्षको विकास गर्ने बताए ।
कार्यक्रमका अध्यक्ष समेत रहेका थारुले नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकताका साथ अगाडि बढाईरहेको बताए । त्यस्तै उपप्रमुख चक्रपाणि अर्यालले नगरपालिकाको समग्र विकास भित्र खेलकुदले पनि समृद्ध नगरको आधार निर्माण गर्ने बताए । उनले राष्ट्रपति रनिङशिल्डले नगरभित्रका विभिन्न विद्यालयलाई राष्ट्रको संमृद्धिसंग पनि जोड्ने बताए । नगरस्तरिय खेलकुदमा विद्यार्थीले सक्रियता पुर्वक सहभागिता जनाएको निर्देशक नगरका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम भट्राईले बताए । १५ विधाका खेलहरु हुने प्रतियोगितामा नगरपालिकाका २४ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
विजेता खेलाडिहरुलाई बाणगंगा नगरपालिकाका नगरप्रमुख मंगलप्रसाद थारु, बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्याल, बाणगांका शिक्षा तथा खेलकुद शाखा अधिकृत बाबुराम भट्टाराई लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।








