
पर्वत : राजनीतिक विवाद चर्किरहेको बेलामा प्रधानमन्त्री के.पी. शर्मा ओली फागुन १५ गते पोखरामा आउने तयारी थियो। गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखराको अमरसिंह चौरमा विशाल जनसभा गरेर सकेसम्म धेरै मानिसको भिड जम्मा गर्ने योजना ओली पक्षका नेता तथा कार्यकर्ताहरूको थियो।
नेकपाका प्रचण्ड–नेपाल र ओली पक्षको बिचमा जति सक्दो धेरै भीड जम्मा गरेर एक अर्कालाई बलियो देखाउने दाबी चलिरहेकै बेलामा कार्यक्रम तयारी गरिएको थियो। यसका लागि कास्की सहित छिमेकी जिल्लाहरूबाट समेत धेरै मानिसलाई पोखरा उतार्ने तय भएको थियो।
तर सर्वोच्च अदालतले विघटित प्रतिनिधि सभालाई पुनः स्थापना गरेपछि फागुन १५ का लागि तोकिएको कार्यक्रम स्थगित भयो। प्रतिनिधि सभा पुनः स्थापना भएपछि ओली पक्षधर नेता तथा कार्यकर्ताहरू निराश बनेको अवस्था छ। अदालतको निर्णयलाई सहजै स्वीकार गरेको बताइरहेको भए पनि भित्र ओली पक्षका नेता तथा कार्यकर्ताहरू भित्रभित्रै निराश बनेका छन्।
अमरसिंह चौरमा हुने भनिएको विशाल जनसभामा सम्बोधन गर्न नपाए पनि प्रधानमन्त्री ओली प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणको लागि पोखरा आउन लागेका छन्।
पूर्व स्वास्थ्य मन्त्री समेत रहेका नेकपा गण्डकी प्रदेशका सह–इन्चार्ज तथा ओली पक्षका एक जना नेता खगराज अधिकारीले पोखरा सभागृहमा प्रदेश स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखिएको र त्यसमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।
‘हामी अदालतको निर्णय कार्यान्वयनमा प्रतिबद्ध छौँ। फागुन १५ लागि तोकिएको कार्यक्रम यही कारण स्थगित भएको हो। तयारी राम्रो गरेका थियौँ।’ उनले भने, ‘यो कार्यकर्ता प्रशिक्षण कार्यक्रम हो। प्रदेशका सबै जिल्लाबाट नेता तथा कार्यकर्ताहरू यसमा सहभागी हुने गरी निमन्त्रण गरेका छौँ।’ उनका अनुसार प्रदेशका ११ ओटा जिल्लाका झन्डै दुई हजार भन्दा बढी कार्यकर्ता कार्यक्रममा सहभागी हुनेछन्।
फागुन १५ लाई तोकिएको जनसभा स्थगित भए पनि अबको एक महिनाभित्र प्रधानमन्त्री ओलीले नै सम्बोधन गर्ने विशाल जनसभाको आयोजना गरिने पनि सहइन्चार्ज अधिकारीले बताए।








