
कपिलवस्तु : प्रथम सूर्योदय फुटवल प्रतियोगिताको उपाधि भैरव एफसी नवलपरासीले हात पारेको छ । सिद्धार्थ रंगशालामा आज भएको फाईनल खेलमा आयोजक सुर्योदय सामाजिक विकास संस्थालाई हराउदै नवलपरासीले उपाधि हात पारेको हो । आयोजक सुर्योदयलाई ५–० गोल अन्तरले हराउदै नवलपरासीले शानदार प्रर्दशनबाट उपाधि हात पारेको छ ।
आफ्नो टिमलाई उपाधि हात पार्न भैरव एफसी नवलपरासीका क्षितिज जि.सी. एक्लैले हयाट्रिक पुरा गरे । उनले खेलको ४४, ५१ र ६५ औ मिनेटमा गोल गरेका हुन् । त्यस्तै नवलपरासीका अनुप गुरुङले खेलको २७ र ३७ औं मिनेटमा गोल गर्दै खेललाई आफ्नो पक्षमा पार्न सुरुवाती योगदान गरे । आजको फाईनल खेलमा निकै उत्कृष्ट लयमा देखिएका तथा हयाट्रिक पुरा गरेका क्षितिज जि.सी. म्यान अफ दि म्याच घोषित भएका छन् ।
भैरव एफसी नवलपरासी सेमीफाईनल खेलमा न्यु युथ युनियन पाल्पालाई २–० को गोल अन्तरले हराउदै आयोजक सुर्योदयसंगको भेट पक्का गरेको थियो । उपाधि हात पारेसंगै भैरव एफसी नवलपरासीले नगद १ लाख १ हजार १ सय ११ र उप–विजेता आयोजक सुर्योदयले ५५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।








