गृहपृष्ठ खबर कपिलवस्तुका चन्द्रबहादुर सहित १ सय ४४ जनालाई छाड्ने सहमति

कपिलवस्तुका चन्द्रबहादुर सहित १ सय ४४ जनालाई छाड्ने सहमति

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका १ सय ४४ जना नेता–कार्यकर्ता अहिले जेल र हिरासतमा छन् । सो समूह र सरकारबीचको तीन बुँदे सहमतिको एउटा बुँदामा लेखिएको छ, ‘सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी ।’
सरकारले प्रतिबन्ध लगाएपछि २ हजार ९८ जना विप्लवका नेता कार्यकर्तालाई प्रहरीले पक्रेको थियो । तीमध्ये, अहिले १ सय २६ नेता जेलमा र १८ जना प्रहरीको हिरासतमा थुनिएका छन् । उनीहरुलाई सरकारले प्रक्रिया पुरा गरेर रिहा गर्ने तयारी गरेको छ ।

विप्लवका दाइ चन्द्रबहादुर चन्द ‘वीरजंग’ पनि चितवन जेलमा छन् । पुलिसलाई हातपात गरेको आरोपमा प्रमुख जिल्ला अधिकारीले उनलाई १० हजार धरौटी मागे । धरौटी नबुझाएपछि उनी थुनामा परेका हुन् । ‘वीरजंग’ जस्तै पाँच जना केन्द्रीय सदस्य जेलमा छन् ।

स्थायी समिती सदस्य हेमन्त प्रकाश ओली नख्खु कारागारमा छन् । समूहका तेस्रो वरियताका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ चाहिँ जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा छन् । परिवारले उनलाई छुटाउन सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट हालेका छन् ।

नख्खुस्थित एनसेल मुख्यालयमा विस्फोटपछि बीबीसीमा अन्तरवार्ता दिँदै हेमन्त प्रकाश ओलीले घटनाको नैतिक जिम्मेवारी लिएका थिए । अदालतले उनलाई विस्फोट मुद्दामा साधारण तारेखमा छाड्यो । ललितपुरको ठेँचोबाट प्रहरीले फेरि उनलाई पक्राउ गरेर ‘पेस्तोल प्लट गरेको’ सो समूहको आरोप छ । उनी अहिले ‘हात हतियार तथा खरखजाना मुद्दामा जेल परेका हुन् ।

विप्लव समूहका केन्द्रीय सदस्य माइला लामा ०७६ साउन ५ मा पक्राउ परेका थिए । त्यसयता उनी छुटेका छैनन् । काठमाडौं इन्चार्ज हुँदा उनलाई प्रहरीले पक्रेको थियो । ३० हजार धरौटी नतिरेपछि उनी संखुवासभा जेलमा छन् । माइला जनसांस्कृतिक महासंघका अध्यक्ष पनि हुन् । लमजुङका माइला ०७४ मा भएको पहिलो संविधानसभा चुनावमा उम्मेदवार बनेर पराजित भएका थिए ।

सम्बन्धित् समाचार