
काठमाडौं : इंग्ल्यान्डविरुद्धको चार खेलको टेस्ट सिरिज घरेलु टिम भारतले ३-१ ले जितेको छ। शनिबार चौथो टेस्टमा इंग्ल्यान्डलाई भारतले एक इनिङ्ग्स र २५ रनले पराजित गर्यो। जितसँगै भारत टेस्ट वरीयताको शीर्ष स्थानमा पुगेको छ। यस्तै भारतले टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको छ।
टेस्ट च्याम्पियनसिपमा अब भारतले न्युजिल्यान्डसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। फाइनल प्रतिस्पर्धा आगामी जुन १८ देखि २२ सम्म इंग्ल्यान्डमा हुने तय छ। टेस्ट च्याम्पियनसिपमा भारतको जितको प्रतिशत ७२.२ छ भने न्युजिल्यान्डको ७० प्रतिशत रहेको छ।
अहमदाबादमा भएको चौथो टेस्टको दोस्रो इनिङ्ग्समा इंग्ल्यान्ड १३५ रनमा अलआउट हुँदा खेल भारतको पक्षमा गएको थियो। दोस्रो इनिङ्ग्समा ब्याटिङमा इंग्ल्यान्डका डान लाउरेन्सले सबैभन्दा बढी ५० रन जोड्दा बलिङमा भारतका अक्षर पटेल र रविचन्द्रन आस्विनले ५-५ विकेट लिए।
त्यसअघि पहिलो इनिङ्ग्समा इंग्ल्यान्ड २०५ रनमा अलआउट हुँदा भारतले ३६५ रन जोडेको थियो। भारतका लागि रिशव पन्तले १०१ रन र वासिङ्टन सुन्दरले ९६ रन बटुलेका थिए। पन्त खेलको प्लेयर्स अफ दि म्याच हुँदा आस्विन प्लेयर्स अफ दि सिरिज भए।








