
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टीका शीर्ष नेताहरूले आज अपरान्ह ५ बजे बालुवाटारमा भेटघाट गर्ने भएका छन्।
जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय परिषदका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसहित शीर्ष नेताहरूले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न लागेका हुन्। नेताहरू राजेन्द्र महतो र अशोक राई पनि भेटवार्तामा जानेछन्।
जसपा नेता केशव झाका अनुसार प्रधानमन्त्रीसँग शीर्ष नेताले भेटघाट गर्ने कार्यक्रम तय भएको छ। साथै आज बसेको जसपा पदाधिकारी बैठकले शुक्रबार संसदीय दलको बैठक राखेको छ। पार्टी एकीकरणपछि संसदीय दलका नेता चयन गर्न बैठक बोलाइएको हो।
राजपा र समाजवादी पार्टी नेपालबीच एकीकरण भए पनि संसदीय दलका नेता चुनिएका छैनन्। संघीय परिषद अध्यक्ष भट्टराईका अनुसार राजनीतिक दलहरूसँग पार्टीले छलफल गर्दैछ।
‘जसपाको पदाधिकारी बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभूत मान्यतावारे सबै राजनीतिक दलहरूसँग उच्चतहमा संवाद गर्ने निर्णय गरेको छ। साथै पार्टीको समायोजन तथा आगामी कार्ययोजनावारे आवश्यक निर्णय गर्न कार्यकारिणी समितिको बैठक चैत ५ गते बस्ने भएको छ,’ उनले भनेका छन्।








