
काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले तत्काल स्थायी कमिटी बैठकको माग गरेको छ। बिहीवार बानेश्वरको अर्याल होटलमा बसेको नेपाल(खनाल समूहको स्थायी कमिटी बैठकले पार्टीमा पुनर्मिलनका लागि स्थायी कमिटी बैठक माग गरेको हो।
सर्वोच्च अदालतको फैसला अनुसार नेकपा एमालेमा फर्किएको भए पनि ओली समूहका गतिविधि आपत्तिजनक भएकाले स्थायी कमिटीको बैठक आवश्यक भएको उक्त समूहले निष्कर्ष निकालेको हो। नेपाल समूहका नेता रघुजी पन्तले स्थायी कमिटीको माग गर्ने विषयमा छलफल भएको जानकारी दिए।
‘देशभरिबाट साथीहरुको प्रतिक्रिया र माग पनि अब कमिटीहरुको बैठक बसेर अघि बढ्नुपर्छ भन्ने छ। आजको बैठकमा पनि यस विषयमा कुरा भएको हो,’ उनले भने।
नेपाल समूहले बैठक बोलाउन लिखित रुपमै माग गर्ने तयारी गरेको छ। ओली समूहका गतिविधिलाई नजिकबाट नियालिरहेको बताउँदै नेपाल समूहका नेताले पार्टी पुनर्मिलनका लागि ओली मुख्य जिम्मेवार रहेको तर्क गर्दै आएका छन्।
बुधवार नेपाल’खनाल समूहको केन्द्रीय कमिटीको बैठक बसेको थियो। उक्त बैठकले एमालेको सरकारकै निरन्तरता र आन्तरिक विवादको समाधानका लागि बैठकको आवश्यकता भएको निर्णय गरेको थियो। तत्कालीन नेकपामा हुँदा भएको विवादलाई बिर्सेर पार्टी नयाँ शिराबाट अगाडि बढनु पर्ने नेपाल समूहको जोड छ।
नेपाल समूहका गतिविधिप्रति भने ओली समूहले चर्को असन्तुष्टि ब्यक्त गरिरहेको छ। स्थायी कमिटी र केन्द्रीय कमिटिको बैठक आवश्यकता अनुसार बस्ने भए पनि समूहगत रुपमा गतिविधि भइरहेको भन्दै नेपाल समूहलाई त्यस्ता गतिविधि रोक्न ओली समूहले चेतावनी दिइरहेको छ।
ओली समूहका नेता विशाल भट्टराईले नेपाल समूहले अनुशासन विपरीत काम गरेको बताए।
‘बैठक त उहाँहरुले माग गर्नै पर्दैन आफै बस्छ। तर, जुन हिसाबले केन्द्रीय कमिटीको बैठक, स्थायी कमिटीको बैठक भनेर गुटगत रुपमा बसिरहनुभएको छ, त्यो पार्टीका लागि राम्रो कुरा होइन,’उनले भने, ‘प्रधानमन्त्रीलाई साधारण सदस्यबाट निकाल्नेमा पनि उहाँहरु नै सहभागी हुनुहुन्थ्यो। यो तरिका राम्रो होइन,’उनले भने।
साविकको नेकपामा विवाद भएपछि नेता नेपाल र खनालले तत्कालीन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डुसँग मिलेर ओलीको चर्को आलोचना गरेका थिए। उक्त आलोचना गरेको भन्दै एमालेमा फर्किसकेको भए पनि ओली समूह नेपाल खनालप्रति सशंकित छ।








