
कपिलवस्तु : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सिद्धार्थ क्याम्पसको आयोजनामा आजदेखि खेलकुद सप्ताह सुरु भएको छ । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ सुरु भएको खेलकुद सप्ताहको उद्घाटन वडा नम्बर ११ का वडाध्यक्ष सोमनाथ अर्यालले गर्नुभएको छ । फुटबल हानेर उद्घाटन गर्नुभएका वडाध्यक्ष अर्यालले खेल सप्ताहले विद्यार्थीहरुमा भएका खेल सिपको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो । उहाँले खेलले शारिरीक, मानसिक विकास गर्नुका साथै विद्यार्थीहरु एकआपसमा घुलमिल भई एकताको भावना सिर्जना गर्ने बताउनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वडाध्यक्ष अर्यालले खेलकुद सप्ताहमा सम्पूर्ण विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहनुपर्नेमा जोड दिनुभएको थियो । स्ववियू सिद्धार्थ क्याम्पसका सभापति सुसिल खत्रीले खेल सप्ताह सम्पूर्ण विद्यार्थीका लागी आफ्नो प्रतिभा प्रस्फुटन गर्ने एक सुनौलो अवसर रहेको बताउनुभएको थियो ।
सभापति खत्रीले स्ववियू सिद्धार्थ क्याम्पस सदैव विद्यार्थीको हक हित तथा सर्वाङगीण विकासका लागी कार्य गर्ने भएककाले यस खेलकुद सप्ताह पनि त्यसको एक अभिन्न अंग रहेको बताउनुभएको छ । विजेता खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाण पत्रसहित उचित पुरस्कारको व्यबस्था गरिएको सभापति खत्रीले जानकारी समेत गराउनु भएको छ ।
खेल संयोजक पुस्कर भुसालको स्वागत मन्तव्य रहेको कार्यक्रममा सहायक क्याम्पस प्रमुख गोविन्द खनाल, अतिरिक्त क्रियाकलाप संयोजक राजकुमार अर्याल लगायतको आतिथ्यता रहेका कार्यक्रम स्ववियु सचिव दिनेश चौधरीले सञ्चालन गर्नुभएको थियो ।








